vada
News

संघर्षको अर्को नाम ‘माग्ने बुढा’ : सडकमा व्यापार, टेम्पो चालकदेखि कलाकारितासम्म

काठमाडौं –जीवन के हो ? यसको जवाफ व्यक्तिपिच्छे फरक–फरक आउन सक्छ । कसैले जीवनलाई पैसासँग तुलना गरेर जवाफ देलान् त कसैले सन्तान त कसैले प्रेमसँग । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)का लागि भने जीवन केवल संघर्ष हो । जीवनको यो क्षणसम्म आइपुग्दा केदारले निकै संघर्ष गरेका छन् । संघर्षसँगको सामीप्यता अत्यन्तै नजिक ।

केदारको पारिवारिक पृष्ठभूमि कलाकारिता थिएन् । २०५० सालमा एसएलसी दिएर काठमाडौं आउँदासम्म पनि उनलाई कलाकारिता थाहा थिएन । मनमा एउटै चिन्ता थियो, एसएलसीपछिको अध्ययन कसरी गर्ने ? त्यसका लागि काठमाडौंमा टिक्ने वातावरण कसरी बनाउने ? जीवनको यो क्षणसम्म आउन कति संघर्ष गरे त्यो बुझन् हामी केदारले आफ्नै बलबुताले ललितपुरको इमाडोलमा ठ्डयाएको दुईतले घरमा पुग्यौं ।

बाल्यकालमा निकै सोझो मकवानपुरको ठिङ्गन भन्ने ठाउँमा एउटा सामान्य परिवारमा जन्मेका केदारले सानैमा आमा गुमाए । ७ वर्षको हुँदा आमाको निधनपछि बुवाले दोस्रो बिहे गरेका थिए । केदार सौतेनी आमाको छत्रछायामा हुर्किए । तीनभाइमा केदार माइला हुन् । केदार सहित तीन भाइलाई सौतेनी आमाको माया भने प्राप्त थियो । केदार सानोमा निकै सोझा मात्र थिएनन्, फुच्चे पनि थिए ।

लोकान्तरसँगको कुराकानीमा उनले आफ्नो बाल्यकाल सम्झिए, ‘फुच्चे थिएँ । अरूसँग एकदमै डराउँथे । आफ्नो आमा हुनुहुन्न भनेपछि सपोर्ट कम भएजस्तो हुन्थ्यो ।’कक्षा ६ सम्म गाउँकै विद्यालयमा पढेपनि कक्षा ७ मा बुवाले ललितपुरको भट्टेडाँडामा रहेको श्री महाकालीदेवी विद्यालयमा ल्याएर भर्ना गरिदिए । ‘यता पढ्न आएपछि विद्यालयमा अतिरिक्त क्रियाकलाप कविता र निबन्ध हुनथाल्यो ।

एकदिन म पनि कविता सुनाएर प्रथम भएँ,’ केदार भन्छन् । यसले उनको जीवनमा जोश थपिदियो । त्यसपछिका प्रतियोगितामा उनी प्रथम हुँदै गए । उनी ललितपुरमा आफ्ना दाइसँग बसेर पढथे । ७, ८ र ९ कक्षा उनले त्यहीँ पढे ।९ मा पढ्दै गर्दा दाइले एसएलसी दिनका लागि त्यो विद्यालय छाडे । त्यसपछि केदार अभिभावकविहीन जस्तो भए । त्यसपछि बुवाले हेटौँडाको चौघडा भन्ने स्थानमा वंशगोपाल माध्यमिक विद्यालयमा लगेर कक्षा ९ मै भर्ना गरिदिए । त्यही विद्यायबाट एलएलसी दिए अनि काठमाडौं आए । त्यो ४० रुपैयाँ…

काठमाडौं आएर केदार दाइसँग बस्न थाले । उनका दाइ रङ्ग लगाउने काम गर्थे । केदारको दाइसँग एउटा पुरानो साइकल थियो । उनी दाइसँगै निस्किथे अनि दिनभर दाइको साइकल लिएर काठमाडौं चाहार्थे । एलएलसीपछिको बिदाको समय थियो । काम पाए त केही गर्छु भन्ने उनले सोचेका थिए । ‘तर म जस्तो एसएलसी दिएर बसेका मानिस कति–कति,’ केदार सम्झन्छन्, ‘कतै काम पाइएन ।’एकदिन केदारलाई सिंहदरबार परिसरमा रेडियो नेपालको छेवैमा एक जनाले सोधे, ‘भाइ काम गर्ने हो ?’ कामकै खोजीमा रहेका केदारले छक्क परेर सोधे, ‘के काम दाइ ?’त्यहाँबाट एउटा फलामको सामान नजिकैको पसलसम्म पुर्‍याउनुपर्ने थियो । कति रुपैयाँ दिनुहुन्छ ? केदारले सोधे ।

२० रुपैयाँ । नजिकै पुर्‍याउँदा २० रुपैयाँ पाइन्छ भने किन नगर्ने भनेर उनले ग्रिलको सामान बोकेर पसल पुगे । त्यहीँ उनले केहीबेर कुरे अनि त्यो सामान पुनः फर्काए । अनि ४० रुपैयाँ कमाए । केदार सम्झन्छन्, ‘काठमाडौं आएर कमाएको त्यो ४० रुपैयाँको अझै पनि सम्झना आउँछ । काठमाडौं आएपछिको मेरो पहिलो कमाइ हो, त्यो । यसलाई पछिसम्म सम्झिनुपर्छ भनेर त्यो पैसाले बाक्लो खालको २ वटा कचौरा किनेर राखेका थिए, त्यो पछि कता पर्‍यो थाहा छैन ।

व्यापारका लागि ‘रिसर्च’केही महिनापछि एसएलसीको रिजल्ट आयो । उनलाई कानून विषय पढ्ने रहर जाग्यो । बुवासँग पैसा मागेर ल्याएर पढ्न उनको मनले मानेन् । ‘आमा बित्नुभएको, पछि घर आगलागी भएको थियो । बुवालाई ठूलो चोट थियो,’ केदार भन्छन्, ‘बुवाको सबै दुःख देखिरहेको थिएँ । त्यस्तो अवस्थामा मैले पैसा चाहियो भनेर कसरी भन्ने ?’

उनले जसोतसो कानून विषय पढ्नका लागि भर्ना गरे । आर्थिक अवस्था कमजोर थियो । जागिर केही थिएन । काठमाडौंमा टिक्नै समस्या थियो । व्यापारका लागि उनीसँग धेरै रकम थिएन । उनी सानो बजेटबाट गर्न सकिने व्यापारको बारे ‘रिसर्च’मा लागे । घर गएर बुवासँग १ हजार ५ सय रुपैयाँ मागेर काठमाडौं आए । सानो बजेटबाट सडक पेटीमा कुन व्यापार गर्दा कति फाइदा हुन्छ ? चुनौती के हुन्छ ? उनले खोज्न थाले ।

शुरूमा उनको ध्यान साग बेच्नेहरूतर्फ गयो । बिहान कहाँबाट साग ल्याउँछन् ? कसरी बेच्छन् ? कति रुपैयाँमा ल्याएर कतिमा बेच्छन् ? कति नाफा कमाउँछन् ? उनले सबै कुरा नियाले, व्यापारीले थाहा नपाउने गरी । ती कुराहरू नियाल्दै जाँदा उनले बुझे, बिहानै उठ्नुपर्ने रहेछ । साग लिन जानुपर्ने रहेछ । बिकेन भने ओइलाएर जाँदो रहेछ, इत्यादि । एकदिन बिक्ला तर कुनै दिन धेरै मुठा ओइलायो भने घाटा लाग्ने देखेर उनले त्यो काम नगर्ने मनस्थिति बनाए ।

उनले अर्को ‘रिसर्च’ शुरू गरे सडक पेटीमा ‘मालपुवा’ पकाएर बेच्नेहरूको । उनलाई त्यो काम पनि त्यति सहज लागेन् । ‘कपडामा पीठो, तेल लाग्दो रहेछ । पकाउने मानिसको कपडा फोहोर भएको देखेँ र त्यो काम पनि नगर्ने भएँ,’ उनले विगत सुनाए । उनले अलि सफा र सजिलो व्यापारबारे बुझ्दै गए । उनको नजरमा पर्‍यो– कस्मेटिक सामानको व्यापार ।यसको व्यापार कसरी गर्ने, सामान कहाँबाट ल्याउने ? व्यापारीसँग बुझे । कुनै पनि व्यापारीले उनलाई सामान ल्याउने होलसेल पसल बताउन चाहेनन् । अन्ततः धेरै मेहेनतका साथ एकदिन होलसेल सामान पाउने ठाउँ पत्ता लगाए ।

उनीसँग घरबाट ल्याएको पैसामध्ये ८ सय ५० रुपैयाँ बचेको थियो । त्यही पैसाबाट पर्स, काइँयो, बेल्ट, ऐना, जुत्ताको पोलिस लगायतका सामान ल्याएर लगनखेलमा पेटीमा बसेर बेच्न थाले । उनले पहिलो दिननै २ सय ५० रुपैयाँ कमाए । भन्छन्, ‘जीन्दगीको परिवर्तन त्यहीँबाट शुरू भयो ।’उनी बिहान क्याम्पस पढ्थे । ९ बजे क्याम्पस बिदा भएर होलसेल पसल पुगी सामान लिएर फूटपाथमा बसेर बेच्थे । उनको व्यापार पनि राम्रो हुँदै गयो । पसल बढाउँदै लगे ।

सोही समयमा सरकारले फूटपाथ पसल हटाउने भयो । नगरपालिकाका कर्मचारी आएर दिनहुँ पसल हटाउन निर्देशन दिन थाले । उनी चिन्तित देखिए । एकदिन एकजना व्यक्ति आएर भने, ‘दाइ तपाईंको पसल बेच्नेभए ३५ हजार दिन्छु,’ केदार भन्छन्, ‘सोचेँ, नगरपालिकाले धम्याएको धम्याइ गर्छ । अब यसमा धेरै दिन टिक्न गाह्रो हुन्छ । २ वर्ष व्यापार गरेपछि २०५३ सालतिर बेचिदिएँ ।’

टेम्पो किने, ड्राइभर राखेर नभएपछि आफैँ चलाएपसल बेचेपछि उनले ७० हजार रुपैयाँमा मिटर टेम्पो किने । टेम्पोमा चालक राखे । चालकले दिनको २ सय ५० रुपैयाँ केदारलाई बुझाउनुपर्थ्यो। तर पैसाभन्दा बढी खर्चको बिल आउन थाल्यो ।‘चालकले टेम्पो बिग्रियो र बनाउँदाको बिल भन्दै आउँथ्यो । कहिले तपाईंको टेम्पो फलानो ठाउँमा बिग्रियो भन्थ्यो ।’

त्यसरी राम्रो कमाई नहुने छाँट देखेपछि उनी आफैँले टेम्पो चलाउन सिके । लाइसेन्स निकाले अनि सडकमा आफैँ टेम्पो कुदाए । टेम्पोबाट राम्रो आम्दानी हुँदै गयो । उनले टेम्पो थपेर तिनवटा बनाए । केदारले टेम्पो चलाएको २ वर्ष बित्नैलाग्दा सरकारले मिटर टेम्पो पनि हटाउने भन्यो । उनले २०५७ सालतिर ३३ हजार ५ सय रुपैँयाको दरमा मिटर टेम्पो बेचे ।सटरको व्यापार पनि सडक विस्तारको चेपुवामा

सडक पेटीको व्यापारलाई सरकारले हटायो, टेम्पो पनि हटायो । त्यसपछि उनी सटर नै लिएर व्यापारमा लागे । टेम्पो बेचेको पैसाले केदारले कलंकीमा होलसेल पसल खोले । पसल खोलेको केही समयपछि सरकारले फेरि कलंकीको सडक विस्तार गर्ने भन्यो । उनको पसल काटिँदै–काटिँदै सानो बन्यो । ‘पसलसहित स्टोर, सुत्ने ठाउँ भएको पछि त पान पसलजत्रो भयो,’ उनले भने । रेडियोबाट जीवनको नयाँ अध्यायकलंकीमा पसल सञ्चालन गर्दै गर्दा केदार रेडियो एचबीसीसँग जोडिए । ‘मेरो पसल साइटमा ब्यापार गर्ने साथी रेडियोमा काम गर्ने सुमित्रा खड्काको घरमा बस्नुहुन्थ्यो । मेरो सुमित्रा दिदीसँग चिनजान भएको थियो,’ केदारले भने । केदारले कविता लेखेर पढाउन थाले । सुमित्राले केदारको कविता वाचन गर्थिन् ।

‘एकपटक कविता वाचन गर्नुभयो, दुईपटक गर्नुभयो, तेस्रोपटक त उहाँ मलाई खोज्दै आउनुभयो,’ केदार सम्झन्छन्, ‘रेडियोमा मानिस चाहिएको छ काम गर्ने भए आउनुस् भन्नुभयो ।’ रेडियोमा नाटकमा बोल्नुपर्ने, नाटक लेख्नुपर्ने । केदारले कार्यक्रम चलाउन थाले, एङ्करिङ सिके । ‘रेडियोमा हाँस्य कार्यक्रम चलाउँथे, रेडियोमा रहँदा मैले धेरै हाँस्य कलाकारहरूको अन्तर्वार्ता लिने अवसर पाएँ,’ उनी सुनाउँछन् । कलाकारसँगको भेटघाट र हिमचिमले उनलाई पनि कलाकारितामा रुचि जाग्यो ।अरूसँग ‘एक्स्ट्रा’ देखिन अभिनय सिकेँ

२०५८ सालतिरको कुरा । सन्तोष पन्तले टेलिसिररियल ‘हिजो आजका कुरा’ निर्देशन गर्थे । नाटकमा अभिनय गर्ने रुचिका साथ केदार सन्तोष पन्तकोमा गए । जहाँ ५०÷६० जना युवा अभिनय गर्ने लालशा बोकेर त्यहाँ पुगेका थिए । ‘त्यहाँ गएपछि म कुनै एंगलबाट छनोट हुने छाँटकाँट नै देखिनँ,’ उनी भन्छन्, ‘त्यस बीचमा म कसरी अरूभन्दा एक्स्ट्रा हुन्छु भन्ने साँचेर ९ महिना अभिनय सिकेँ ।’

केदार फ्याट्टफुटट् ‘हिजो आजका कुरा’मा अभिनय गर्न थाले । जीतु नेपालको कार्यक्रम ‘गीताञ्जली’मा पनि अभिनय गरे । २०६० सालपछि ‘तितोसत्य’मा काम गरे । सँगै २०६१ सालतिर ‘जिरेखुर्सानी’मा पनि अभिनय गर्न भ्याए । अनि २०६२ सालदेखि सीताराम कट्टेल (धुर्मुस)सँग मिलेर ‘मेरीबास्सै’ शुरू गरे । त्यसमा ‘माग्नेबुढा’को भूमिका निर्वाह गरे । सिताराम र केदारको जोडीले ‘मेरीबास्सै’मार्फत् छुट्टै पहिचान बनायो ।

त्यसयता केदारको लोकप्रियता बढ्दै गयो, सँगै व्यस्तता पनि । उनी देश विदेशका मेला महोत्सवमा व्यस्त बन्दै गए । विविध कारणले केही वर्ष अघि केदार आफैँले जन्माएको ‘मेरी बास्सै’बाट छुट्टिए । त्यसयता केदार चलचित्रमा व्यस्त छन् । ‘६ एकान ६’ बाट केदारको चलचित्र यात्रा पनि राम्रैसँग चम्कियो । त्यसयता उनले ‘वडा नं. ६’, ‘छक्का पञ्जा’ ‘छक्का पञ्जा २’, ‘रामकहानी’, ‘छक्का पञ्जा ३’ लगायतका चलचित्रमा मुख्य भूमिका निर्वाह गरिसकेका छन् ।

कलाक्षेत्रमै जीवन संगिनी केदारकी श्रीमती सीता घिमिरे पनि कलाक्षेत्रमै आबद्ध छिन् । टेम्पो चलाउँदै गर्दा केदारले ललितपुरको भट्टेडाँडाकी सीतासँग २०५६ सालमा बिहे गरेका थिए । हाल सीता हाँस्य टेलिसिरियल ‘भद्रगोल’मा ‘चन्द्रमुखी’को अभिनय गर्छिन् ।केदारकै कारण उनी कलाकारितामा जोडिएकी हुन् । पहिले मेसीबास्सैमा अभिनय गरिन् । बीचमा छोराछोरीको हेरविचारका लागि उनी कलाकारिताबाट केही टाढा रहिन् । यसबीचमा केदारले उनलाई अभिनय सिक्न प्रेरणा दिए । ९ महिना अभिनय सिकेकी सीता आउँदा दिनमा पनि कलाकारितालाई निरन्तर अगाडि बढाउने सोचमा छिन् । यो जोडीले मेला महोत्सवमा सँगै प्रस्तुती दिँदै आएका छन् । केदार चलचित्र क्षेत्रमै बढी क्रियाशील रहने सोचमा छन् ।

‘अहिलेलाई ठूलो पर्दा फापिरहेको छ, आउँदा दिनमा हेरौं के हुन्छ ?’ केदार भन्छन् । एक छोरा र एक छोरीसहित केदारको चार सदस्यीय परिवार छ । १० वर्षदेखि यो परिवार ललितपुरको इमाडोलस्थित आफ्नै निवासमा बस्दै आएको छ ।केदार काममा निकै लगनशील छन् । तन, मन दिएर आफ्नो भूमिका निभाउँछन् । ‘मेरो संघर्ष पहिलेदेखि नै कडा हो,’ उनी भन्छन्, ‘यदि काम बाँकी छ भने म खाना खान पनि बिर्सिन्छु ।’

Related Articles

Back to top button