vada
News

विवाह भएको एक वर्ष नपुग्दै नेपालमा श्रीमानको मृत्यु, साइप्रसमा रहेकी श्रीमतीले ‘मुटुसंगै जान्छु’ भन्दै टिकटकमा भिडियो राखेर गरिन् देह त्याग

काठमाडौ । नेपालमा श्रीमानको निधन भएपछि त्यसको खबर पाएकी एक महिलाले विदेशमै देह त्याग गरेकी छन् । साईप्रसको लार्नाका सहरमा बस्ने २३ वर्षीया नेपाली युवतीले देह त्याग गरेकी हुन् । उनका श्रीमानको नेपालमा दुर्घटनाका कारण निधन भएको थियो ।

श्रीमानको दुर्घटनाको खबर पाएपछि उनले सासु ससुरा र आफन्तका नाममा एक म्यासेज लेखेर आइतबार राति देह त्याग गरेकी छन् ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं। ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले देह त्याग गरेको साइप्रसमा बस्ने नेपालीहरुले जनाएका छन् । गैरआवासीय नेपाली संघ साईप्रसले घटनाको पुष्टि गरेको छ ।

तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न पुगेकी थिइन् । तमाङको शव उनकै परिवारको सल्लाह अनुसार नेपाल ल्याउने प्रयास गरिएको छ ।

विवाह भएको एक वर्ष नपुग्दै श्रीमानको निधन भएको खबर उनले सहन सकिनन् । गाडी चालक रहेका उनका श्रीमानको दुर्घटनाका कारण निधन भएको हो । श्रीमान् सुबिन तामाङको आइतबार दुर्घटनामा निधन भएको खबर पाएपछि सोही रातमा देह त्याग गरेको बताइएको छ ।

तामाङले टिकटकमा श्रीमान्को दुर्घटनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन् ।

Related Articles

Back to top button