vada
News

बधाई दिँदै गाउँलेले भने, ‘सपनाले गाउँकै नाम राखिन्’

काठमाडौँ — बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्‍यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल्ली र चोकहरुमा उनले तीन महिना बिताइन् । सानो उमेरमै सडकको जिन्दगी भोगेकी उनी हुन् सपना रोका मगर ।

दिनभर टोलाइरहन्थिन् सपना । चिच्याएर रुन खोज्थिन् तर आवाज भित्रै हराउँथ्यो । के भइरहेको छ, सोच्न सक्ने अवस्था थिएन । भोकै रात काट्थिन् । शरीरमा पाइन्ट, टिसर्ट अनि ज्याकेट । लगलग काम्दै जाडोको त्यो समय एकै ठाउँमा नबोली बस्थिन् । ओठबाट हाँसो खोसिएको थियो । बोली बन्द भएको थियो । कसैले बोलाउँदा पनि झसंग हुन्थिन् । कतै परबाट बोलाएझैं कानमा अरुको बोली ठोकिन्थ्यो । निन्द्रा हराएको थियो । दया गरेर कसैले दिएको खानाले पेट भर्थिन् ।

त्यो पनि नपाउँदा ६/७ दिनसम्म भोकै बस्थिन् । भोकले रन्थनिँदा मनमनै कसैले एक छाक दिए हुन्थ्यो भन्ने प्रार्थना गर्थिन् । पानी पिएरै भोक मेट्न खोज्थिन् । अनि सानो डायरीमा कलमले कोरिबस्थिन् । दिनभर सडकमै बिताए पनि रातमा प्रहरी चौकीको प्रतिक्षालय पुग्थिन् उनी । कारण, कसैले गलत नजरले हेरे प्रहरीलाई गुहार्न सकिन्छ भन्ने विश्वास थियो उनलाई ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

‘सडकमा जीवन बिताउने छोरी मान्छेलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । चौकी बाहिर रात कटाए, केही भयो भने प्रहरी चौकीमा प्रहरीहरु त हुनुहुन्छ भन्ने हुन्थ्यो,’ सडकको जीवन सम्झँदै सपना सुनाउँछिन्,’ढोकामा उभिने एकजना प्रहरी दाइले सँधै मलाई हेरिरहनुहुन्थ्यो । साँझ पर्नेबित्तिकै आइपुग्छ, कसको छोरी होला, कहाँबाट आइन् होला भन्ने सोच्दो हो ।’

त्योबेला उनको शरीरको तौल घटेर ३२ किलो भयो ।

एकदिन सपनालाई सहनै नसक्ने भोक लाग्यो । बिस्कुट के खान लागेकी थिइन् उनको ध्यान छेउमै रोइरहेको अनाथ बच्चातिर गयो । आफूले खाँदै गरेको बिस्कुट त्यो बालकलाई दिइन् । त्यतिखेर झल्याँस्स म्याग्दीमा रहेका आमाबुबाको झल्को आयो । ‘धेरै याद आयो उहाँहरुको । कान्छी छोरी मलाई घरमा सबैले धेरै माया गर्नुहुन्थ्यो । खाना नखाँदा जबरजस्ती खुवाउनु भएको दिनको याद आयो,’ सपनाले सुनाइन् ।

त्यसपछि सपनाले सडक छोड्ने निर्णय लिइन् । सोचिन्, ‘म यस्तो मान्छे त होइन, के बिग्रेको छ गल्ती सबैले गर्छन् । मैले मेरो गल्ती सुधार्नुपर्छ ।’ त्यसपछि उनले आत्मविश्वास बढाएर सडकको जिन्दगी त्यागिन् ।

विद्यालय पढ्दै गर्दा सपनाको हातमा मोबाइल पर्‍यो । कक्षा ९ मा फेसबुक खोलिन् । नयाँ साथीहरु भेटिन् । नराम्रो साथी संगतमा रमाउन थालिन् । २०७३ मा श्री महेन्द्र रत्न उच्च माध्यमिकबाट एसएलसी दिएर कलेज पढ्न बेनी आइन् । भर्चुअल संसारमै रमाउन थालिन् उनी ।

फेसबुकबाटै भेटेको एक व्यक्तिसँग बिहेको सम्बन्ध गाँसियो । तर, त्यो सम्बन्धलाई बिहे मान्दिनन् उनी । ‘बिहेकै रुपमा त्यसलाई लिँदिनँ । कसैको जिन्दगी सपार्न कसैको जिन्दगी प्रयोग गरिएको थियो । म प्रयोग भएँ त्यो ठाउँमा,’उनले सुनाइन्,’घर परिवार कसैले सुधार्न नसकेको व्यक्तिलाई बिहे गरिदियो भने सुध्रिन्छ भन्ने उसको परिवारलाई लाग्थ्यो । त्यो परिबन्धमा सम्बन्ध जोडियो ।’

भिडियो कुराकानी हेर्नुहोस्

त्यतिबेला उनलाई पनि सुधार्न सक्छु भन्ने लागेको रहेछ । तर, एकअर्काप्रति कदर नभएपछि तीन महिनामै सम्बन्ध टुट्यो । त्यो बेला ‘विवाह’लाई खैलौनाको रुपमा लिइएको उनी सुनाउँछन् । सम्बन्ध टुटेपछि म्याग्दी फर्किन् उनी । आमाले बिहे भएको छोरी पतिकै घरमा बस्नुपर्ने सल्लाह दिएपछि उनी फेरि त्यो सम्बन्धमा फर्किन् । २ वर्षअघिको तीजमा घर फर्कँदा उनीमाथि नराम्रो व्यवहार गरियो । यातना दिइयो ।

त्यो सम्बन्ध टुटेपछि उनको मनमा मर्ने सोचहरु मात्र आउन थाल्यो । धेरै पटक आत्महत्याको प्रयास गरिन् । जीवनदेखि हारेर कहिले पङ्खामा पासो लगाइन् त कहिले छतको डिलमा आँखा बन्द गरेर हिँडिन् । तर, उनको मर्ने हर प्रयास असफल भयो । त्यसपछि हो सपना सडकमा आएको ।

समाजले अनेक कुरा गर्थे । सेतो कापीमा लागेको दागझैं आफ्नो जिन्दगीमा त्यो सम्बन्धले बनाइदिएको दागले उनलाई अर्धपागल नै बनायो । ‘फ्रस्टेसनजस्तो आखिर के नै गर्न सकें र भनेर धेरै टोलाउँथे । डिप्रेसनजस्तो अनुभव। गाह्रो भयो बाँच्न,’ सडक जीवन सम्झन्छिन्,’साँझ निदाए भने भोली उठ्छ उठ्दैन ठेगान हुन्थेन। बेलाबेला बेहोस् हुन्थें ।’

सडकको त्यो जीवन सम्झँदा आज पनि उनको मनमा चिसो पस्छ । ‘पीडा सुनिदिने मानिस कोही होस् । कसैले मेरो पीडा सुनिदिओस् भन्ने लाग्थ्यो । तर सडकको मान्छेसँग को बोल्न आउँथ्यो र ?’ अवरुद्ध गलामा उनले प्रश्न गरिन् ।

सडकबाट म्याग्दी फर्केर उनले १२ को पढाइ सकिन् । त्यसपछि बेवारिसे शव व्यवस्थापनमा विनयजंग बस्नेतसँग मिलेर काम गर्न थालिन् । विनयजंगलाई एसएलसी दिनु अगावै चिन्थिन् उनी । आफूले पनि सडकको जिन्दगी बिताएकै कारण बेवारिसे शव व्यवस्थापनमा संलग्न भइन् । ‘हिजो समयमा त्यसरी नै हिँडेको भए के थाहा म बेवारिसे भएर मर्नु पो पर्थ्यो कि । त्यही कारणले मेरो जीवनसँग मेल खाएको र मानव संवेदनासँग जोडिएको भएर यो सेवामा लागें । बेवारिसे लास भन्नेबित्तिकै पारिवारिक आत्मियताको अनुभव हुन्छ,’ उनले सुनाइन् ।

तीन वर्षदेखि शव व्यवस्थापनमा सक्रिय सपना १ वर्षयता फ्रन्टलाइनमा रहेर दागबत्ती दिइरहेकी छिन् । अहिलेसम्म सयभन्दा बढी बेवारिसे शवको सदगत गरिसकिन् सपनाले । विनयसँग मिलेर भने ३ सयभन्दा बढी शवको सद्गत गरिसकेको उनी बताउँछिन् ।

कुनै समय छोरीले शव आएको बाटो देख्यो भने त्यता फर्किनु हुँदैन भनेर आमाले सपनालाई लुकाउँथिन् । तर, अहिले सपनाको कर्मभूमि नै आर्याघाट बनेको छ । १७ वर्षको उमेरमा उनले पहिलो पटक १७ वर्षकै बेवारिसे युवतीको सदगत गरेकी थिइन्। ‘उसको अनुहार हेर्दा झस्केको थिएँ म । त्यो बेला म पनि १७ वर्षकै थिएँ। हिजोको समयमा म सडकमै मरेको भएँ । आज यही लासको ठाउँमा म पो हुन्थें कि । भावुक पनि भएँको थिएँ,’ आफ्नो अनुभव सुनाइन् ।

पछिल्लो समय उनलाई बेवारिसेको उपनाम नै दिइएको छ । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध सपनाको नाम हालै बेलायती सञ्‍चारमाध्यम बीबीसीले सार्वजनिक गरेको विश्वभरका सय प्रेरणादायी महिलाको सूचीमा पर्‍यो ।

‘तेरो छोरीले गाउँको नाम फाल्यो । परिवारको नाक काट्यो,’ भन्ने आफन्तहरु त्यस दिन बिहानै सपनालाई बधाई दिन घरमै आए । सपनाकी आमाबुवालाई बधाई दिँदै भन्दै थिए, ‘सपनाले गाउँकै नाम राख्यो । विश्वमा सपना कहाँको भन्यो भने म्याग्दीको भनेर कुरा आउँछ।’

त्यतिबेला आमा खाना खाँदै थिइन् । खाँदै गरेको गाँससँगै आमा खुसीले रोइन् । बुबा पनि पहिलो पटक त्यसरी खुसीले रोएको देख्दा आफूले जीवनमा केही उपलब्धि पाएको भन्ने सपनालाई लाग्यो । अघिल्लो दिन रातिसम्म पारिपट्टि गाउँमा अपाङ्ग/असक्तलाई खाद्यान्न बाँड्न व्यस्त भएकी सपनाले भने ओछ्यानमै हुँदा त्यसबारे खबर पाएकी थिइन् ।

विदेशबाट दाइ र दिदीको बधाई पाइन् । राज्यले आफ्नो कामको मूल्यांकन नगरे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेको बताउँछिन् सपना । ‘दिनरात भोक प्यास नभनिकन हामी खटिरहेका थियौं । खाना खाने, पानी पिउने फुर्सद हुँदैन थियो । त्यसरी हिँड्ने क्रममा राज्यले मूल्यांकन गरेन,’ उनले भनिन्, ‘बीबीसी जस्तो ठूलो मिडियाले हाम्रो मूल्यांकन गरिदियो । एकदमै खुसी छु ।’

कहिले रातको १ बजे उठेर शवको व्यवस्थापनमा गर्छिन् त कहिले लासलाई दागबत्ती दिएर १२ बजे ओछ्यान पस्छिन्। बेवारिसे शव भेटियो या अलपत्र परेका मानिसहरु भेटिए भने सुरुमै सपना र विनयको फोन बज्छ । रातभर बेवारिसे लास व्यवस्थापन बिताएका दिनहरु कैयन छन् ।

केही दिनअघि मात्रै ललितपुरमा बेवारिसे शव भेटिएको भन्दै प्रहरीले विनय र सपनालाई डाके । रातको १ बजे मस्त निन्द्रामा थिइन् सपना । प्रहरीले शव दुर्गन्धित भइसकेको भनेपछि उनी दुई त्यति नै बेला उठेर व्यवस्थापनमा लागिन् । ‘१ बजे गएका हामी लगभग बिहान ५ बजे पोस्टमर्टमको प्रक्रिया हुँदाहुँदै ६ बजेतिर लास जलाउन सुरु भयो,’ उनले भनिन् ।

छोरीले दागबत्ती दिने मान्यता छैन हिन्दु परम्परामा । तर १ वर्षयता सपनाले त्यो मान्यता तोडेर बेवारिसेको सेवा गर्दै आएकी छिन् । उनले पहिलो पटक सद्गत गर्दा आमासँग अनुमति मागेकी थिइन् । उनलाई आमाले बेवारिसेको सद्गत गर्नु भाग्यको कुरा रहेको भन्दै हौसला दिइन् । तर समाजले मृतकको जात नबुझी सद्गत गरेको भन्दै उनको कुरा काट्थे । ‘छोरी मान्छेले सद्गत गरेको देख्दा त्यो शवको आत्माले मुक्ति पाउँदैन’ भन्ने कुरा नसुनेका होइनन् । तर उनलाई लाग्छ,’वर्षौंदेखि सडेर, गलेको शवले दागबत्तीको आस गरेको हुन्छ ।’

हरेक परिवारमा छोराकै जन्म हुन्छ भन्ने छैन । त्यसैले छोरीले पनि दागबत्ती दिनुहुन्न भन्ने कुरा चिर्दै उनी अगाडि बढिन् । उनका बुवाआमा तीनै छोराछोरीको हातबाट दागबत्ती लिने कुरा गर्छन् । ‘हामी मर्‍यौं भने त हाम्रो डल्ली रुँदा पनि रुँदिन होला भन्नुहुन्छ । त्यतिका लासलाई दागबत्ती दिइसकिन् भनेर आमाबुवाले जिस्काउनु हुन्छ,’ उनले सुनाइन् ।

बेवारिसेको शव धुँवामा परिणत भइरहँदा कस्तो अनुभव हुन्छ ? प्रश्न गर्दा जवाफमा उनले भनिन्,’खुसी लाग्छ । कति समयदेखि खुम्चेर बसेको शरीरमा दागबत्ती दिन्छौं हामी । उसको सद्गत गरिएको शरीर खुल्दै हावामा उड्दै जान्छ । अब उसको कर्मअनुसार स्वर्ग वा नरक जान्छ भन्ने लाग्छ ।’

अब सपनाले स्नातक पढ्ने सोचेकी छिन् । आफ्नो जीवनलाई बेवारिसेकै व्यवस्थापनमा समर्पित गर्ने उनको सपना छ । अलपत्र सकडका बेवारिसेलाई हाँस्न सिकाउने सपना जिन्दगीसँग हार्नेहरुलाई हिम्मत नहार्न हौसला दिन्छिन्, ‘हिजो म माग्नेसमेत भएको थिएँ । कसैले चिन्न नसक्ने भएको मान्छे अहिले सबैसँग कुरा गर्न सकेकी छु । त्यसैले सबैलाई हिम्मत नहार्नुहोस् भन्न चाहन्छु ।’

Related Articles

Back to top button
Close