vada
News

सालकको खपडा सहित २ जना पक्राउ, यसको मुल्य कति छ ? किन बिक्रि हुन्छ ?

काठमाडौ । काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित शान्तिगोरेटो चोकबाट १ किलो २५ ग्राम तौल भएको प्रतिबन्धित सालकको खपडा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काभ्रे महाभारत गाउँपालिका-२ बाल्टिङ घर भई काठमाडौं स्वयम्भू बस्ने २५ वर्षीय बिनोद तामाङ र काभ्रे सल्ले भुल्बु गाउँपालिका-३ घर भई काठमाडौं चाबहिल बस्ने ४७ वर्षीय लाल सिंह तामाङ रहेका छन् ।

चाबहिल क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित सालकको खपटा अबैध रुपमा बिक्री गर्नको लागि लुकाई ल्याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपडा र २ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहिको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रत्येक ५ मिनेटमा विश्वमा एउटा सालक मास्ने गरेको सालकविज्ञ अम्बिका खतिवडा बताउँछन् । उनको अनुसार सन् २०११ को वन्यजन्तु जनगणना अनुसार नेपालमा सालकको संख्या ५ हजारको हाराहारीमा रहेको छ । विश्वभर सालकको तस्करी बढेपछि साईटिस अभिसन्धिले अतिसंकटापन्न वन्यजन्तुको अनुसुची २ बाट १ मा राखेको छ ।

सालकको तस्करी चीनमा हुने भएकाले पछिल्लो समय सालक तस्करीको ट्रान्जिट प्वाईन्ट नेपाल रहेको खतिवडा बताउँछन् ।उनको अनुसार एक वेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको मृत्यु दर करिब ७० प्रतिशत रहेको छ । अर्थात् जन्मिएका बच्चाहरूमा ३० प्रतिशत बच्चा मात्र बाँच्ने भएकोले प्राकृतिक रूपमै यसको संख्या कमी हुँदै गइरहेको विज्ञहरू बताउँछन् ।

नेपालमा समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जंगलमा सालक पाइने गरेको छ । सालकको दांँत हुँदैन र यसको जिब्रो ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्दछ ।

यसको रंग माटोसँग मिल्दोजुल्दो हुन्छ । कतैबाट आफुलाई असर भयो भने यो भाग्दैन तर भकुण्डोको आकारमा गुडुल्किएर बस्दछ । कसैलाई क्षति नगर्ने, भाग्न नसक्ने, सजिलै समाउन सकिने र सोझो प्रकृतिको हुने भएकोले तस्करहरूले सालकलाई सजिलै समाउन सक्ने विज्ञ खतिवडा बताउँछन् ।

चीनमा सोखको रुपमा धनीहरुले सालकलाई प्रयोग गर्ने गर्छन् । चीनमा धनीहरुले सालकको खपटालाई सजावट र मासुको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ । चीनको बजारसम्म पुर्याउँदा यसको लाखौ मुल्य पाइने भएकाले व्यापार भइरहेको छ । त्यहाँ कछुवालाई गुड लक मानिन्छ । विहान उठ्नासाथ कछुवा हेर्न पायो भने गुड लक हुने विश्वास छ ।विश्वमा ८ प्रजातीको सालक पाईन्छ ति मध्ये दुई प्रजातीको सालक नेपालमा पाईन्छ । नेपालमा चीनीया सालक र ईन्डियन सालक पाईने गरेको छ ।

तराई र पश्चिमी भूभागमा ईन्डियन सालक पाईने गरेको छ भने २ हजार ५ सय मिटर उचाईसम्म पूर्वदेखि रोल्पा सुर्खेत क्षेत्रमा चीनिया सालक पाईने गरेको छ । ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ। राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ। कतैबाट क्षतिको चाल पाउँदा डल्लो परेर बस्छ ।

विश्वमा पाइने आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति– कालो सालक अर्थात् चाइनिज प्याङ्गोलिन र तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन नेपालमा पाइन्छ । अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले कालो सालकलाई जोखिमपूर्ण र तामे सालकलाई खतरायुक्त सूचीमा राखेको छ ।तथापि अहिले त्योभन्दा पनि बढी नाजुक अवस्थामा रहेको चिन्ता विज्ञहरूले व्यक्त गर्दछन् । सालकको मुख्य आहारा धमिरा हो । यसले कमिला लगायत अन्य साना कीराहरू पनि खाने गर्दछ । एउटा सालकले एक वर्षमा सरदर सात करोड धमिरा लगायत कीरा फट्याङ्ग्राहरू खाने विज्ञहरू बताउँछन् ।

मानिसलाई हानिनोक्सानी गर्न सक्ने कीरा धमिरालाई प्राकृतिक रूपमा नियन्त्रण गर्ने भएकोले सालक मानव समुदायका लागि निकै हितकारी मानिन्छ । अझ बालीनालीमा लाग्ने धमिरा तथा कीरा फट्याङ्ग्रा खाई कीराको प्रकोप कम हुने, यसले अन्नबालीलाई कुनै नोक्सान नगर्ने र प्राकृतिक रूपमा जमीनको उर्वराशक्ति बढाउने भएकोले यसलाई कृषकको मित्रको रूपमा पनि लिने गरिन्छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९ ले नेपालमा पाइने सालकसहित २७ प्रजातिका स्तनधारी प्राणीहरूलाई लोपोन्मुख सूचीमा राखेको छ । यो ऐनको दफा २६ को उपदफा २ मा सालकको जीवन नष्ट गरेमा वा यसको अंगको व्यापार गरेमा ४० हजारदेखि ७५ हजार रुपियाँ जरिवाना, एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

Related Articles

Back to top button