vada
News

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? १४ लाखमै बनाउन सकिन्छ ४ कोठे घर

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ?

तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ ‘एसवाइ प्यानल’ ले।

एसवाइ प्यानलले विगत तीन वर्षदेखि विभिन्न डिजाइनका आधुनिक घर बनाउँदै आएको छ। तर हामीले देख्दै आएका सिमेन्ट, इँट्टाको होइन, ‘प्रि-फ्याब’ घर।

यो कस्तो घर हो भन्ने बुझ्नुअघि एसवाइ प्यानलबारे जानौं।

एसवाइ प्यानल कोरियाली कम्पनी हो। यस अन्तर्गत रहेर नेपालमा ५६ कम्पनीले प्रि-फ्याब घर बनाइरहेका छन्। यही मध्येको एक कम्पनी हो बि.एन्ड.बि हाउजिङ एन्ड ल्यान्ड प्रालि।

यसका सञ्चालक बासु सापकोटाका अनुसार एसवाइ प्यानलबाट आवासीय घरसँगै पोल्ट्री फार्म, कोल्ड स्टोरहरू, वेयर हाउस, ठूल्ठूला गोदाम पनि बनाइन्छ। एसवाइ प्यानलबाटै घर मात्र ५७ वटा बनाइसकेको उनी बताउँछन्।

यस्ता प्यानलबाट आधुनिक घर निर्माण गर्नुको मुख्य उद्देश्य भूकम्पबाट हुने क्षति कम गर्नु रहेको उनले बताए।

एसवाइ प्यानलसहित अन्य कम्पनीका प्रि-फ्याब घर बनाउँदै आएको आरती एन्ड कम्पनीका अनुसार २०७२ को भुइँचालोअघि पनि यस्तो घर चलनमा थियो। भुइँचालोपछि भने माग बढेको सोही कम्पनीअन्तर्गत ८ वर्षदेखि काम गरिरहेका इञ्जिनियर माधवप्रसाद कोइरालाले जानकारी दिए।

‘भुइँचालोअघि पनि नेपालका पहाडी भू–भागमा विभिन्न संघसंस्था तथा आयोजनाले क्याम्प, विद्यालय, स्वास्थ्य चौकी बनाउन प्रिफ्याब प्रयोग गरिरहेका थिए,’ उनले भने, ‘यी प्यानल भूकम्प प्रतिरोधी हुन्छन्।’

के हो प्रि-फ्याब प्यानल?

इञ्जिनियर कोइरालाका अनुसार यो भनेको घरका विभिन्न भाग (भित्ता, छाना, स्ल्याब लगायत) कारखानामै बनेर आएको बुझिन्छ। पहिल्यै तयार भएर आएका प्यानलहरू आवश्यकता अनुसार जोडेर आफूलाई मन परेको डिजाइनमा घर बनाउन सकिन्छ।

‘प्रि-फ्याब घरमा लगाइने पर्खाल, छानादेखि घरमा प्रयोग हुने अरू सबै सामान कारखानामै बनेर आएको हुन्छ। त्यसलाई आफ्नो आवश्यकता अनुसार फिटिङ मात्रै गर्ने हो,’ उनले जानकारी दिए।

प्रि-फ्याबका पनि विभिन्न प्रकार हुन्छन्। यो प्रकार प्यानलभित्र के राखेर बनाइएको छ भन्नेमा भर पर्छ। कंक्रिट बेस, सिमेन्ट ब्रोड बेस, पफ बेस र स्यान्डविच बेस प्यानल केही नमूना हुन्। ठाउँ र आफ्नो रोजाइ अनुसार इञ्जिनियरको सल्लाहमा यी प्यानल रोज्न सकिन्छ।

एसवाइ कम्पनीले भने विशेषगरी पफ र स्यान्डविच बेस प्यानल प्रयोग गरिरहेको छ। इञ्जिनियर कोइरालाका अनुसार विशेषगरी हिमाली क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने भएकाले पफ र स्याडविच प्यानलका घरको माग बढी छ। यसको तौल कम हुनाले ढुवानी खर्च पनि कम हुन्छ।

कंक्रिट र सिमेन्ट ब्रोड बेसका घर काठमाडौं उपत्यका र हाइड्रो पावरका क्षेत्रमा धेरै माग छ।

कसरी बन्छन् यी प्यानल?

उनका अनुसार यी प्यानल दुईतिर जस्ता पाता राखेर बीचमा प्यानलको प्रकार अनुसार विभिन्न सामग्री राखेर बनाइएको हुन्छ।

जस्तै कंक्रिट वा सिमेन्ट ब्रोड बेस प्यानलमा दुईतिर जस्ता पाता (जिंक प्यानल) राखेर बीचमा सिमेन्ट र बालुवाको मिश्रणले भरिएको हुन्छ।

पफ प्यानलभित्र फम हुन्छ भने र स्यान्डविचमा १० प्रतिशत ढुंगामाटो र बाँकी फम प्रयोग हुन्छ। एसवाइ कम्पनीका यस्ता प्यानलका २ देखि ६ इन्च मोटाइको पाइन्छ।

यस्तो घरमा काठको झ्याल भने प्रयोग गरिँदैन। आलुमिनियम वा युपिभिसी झ्याल प्रयोग हुन्छ।

पफ र स्यान्डविच प्यानलमा थोरै फरक भए पनि बनेको घर हेर्दा उस्तै देखिन्छ। अझ पफ प्यानलको त तयार भइसकेको घरै पनि किन्न सकिने कोइराला बताउँछन्।

‘एक ठाउँबाट अर्को ठाउँमा सार्न १० बाइ १० फिटका तयारी घर किन्न पाइन्छ। निश्चित समयका लागि प्रयोग गरेपछि सार्न सकिन्छ। यसको फोल्डिङ सिस्टम भएकाले खोलेर अर्को ठाउँमा सहजै फेरि फिटिङ गरेर राख्न सकिन्छ,’ उनले भने।

उनका अनुसार यी घरको तौल कम भएकाले अप्ठ्यारामा बाटोमा पनि सजिलै सार्न सकिन्छ। घर सार्दा लाग्ने फिटिङ खर्च पनि कम लाग्छ।

प्रि-फ्याब घरका रङ भने सीमित हुन्छन्, तीन-चार वटा मात्रै। सामान्यतया कम्पनीसँग रातो, सेतो र खरानी रङ हुन्छ। उद्योगहरूले मेसिनबाटै रङ भर्ने भएकाले नखुइलिने तर कोरिनबाट भने बचाउनु पर्ने कोइरालाले बताए।

कसरी बनाइन्छ घर?

कोरियन प्रविधिको एसवाइ प्यानल प्रयोग गरेर घर बनाउन जग भने परम्परागत तरिकाले नै उठाइन्छ। पक्की घर बनाउन जसरी जग खनेर उठाइन्छ, यसमा पनि त्यस्तै चाहिन्छ। तर पक्की घर बनाउँदाभन्दा कम जग खने पुग्ने इञ्जिनियर कोइराला बताउँछन्।

‘पक्की घरका लागि जग बनाउँदा १० लाख खर्च हुन्छ भने प्रि-फ्याबमा १ देखि डेढ लाखमै काम सकिन्छ,’ उनले भने।

उक्त जगमा आवश्यकताअनुसार एकाध फिट जति सिमेन्ट-इँट्टाकै पर्खाल लगाइन्छ। भुइँ ढलान गरेर चिप्लो पारिन्छ। र त्यही जगमा प्यानल प्रयोग गरेर घर ठड्याइने हो। यदि कसैको पहिले नै पक्की घर छ भने तला थप्न यो प्यानल झनै उपयोगी हुने कोइराला बताउँछन्।

‘प्रिफ्याब प्यानलको तौल कम हुन्छ। पक्की घरमाथि यसबाट सजिलै तला थप्न सकिन्छ। तला जति थपियो लागत उति कम हुन्छ,’ उनले जानकारी दिए।

कति पर्छ यस्तो घर बनाउन?

यस्तो घर बनाउँदा प्रति वर्गफिटका आधारमा खर्च लाग्छ। भित्ताका भाग बनाउँदा २५ सय रूपैयाँ प्रति वर्गफिट लाग्छ भने छत बनाउन १६ देखि १८ सय रूपैयाँमा हुने कोइरालाले जानकारी दिए।

कसैलाई चार कोठाको एक तले घर बनाउन पर्‍यो भने करिब १२ देखि १४ लाख खर्च हुने उनी बताउँछन्। यसमा प्रि-फ्याबकै लागि भनेर बनाइने जगको खर्च पनि जोडिएको छ। अरू के-कस्ता फर्निचर र कस्तो डिजाइन राख्ने हो, त्यहीअनुसार मूल्य थप हुन्छ।

‘बजारमा ४-५ लाखमै घर बन्छ भनेको सुनिन्छ। त्यो चाहिँ होइन। पक्की सिमेन्टको घरभन्दा केही सस्तो र चाँडो बन्ने हो,’ उनले भने।

एसवाइ प्यानलका घर परम्परागत शैलीका घरको तुलनामा ६०-७० प्रतिशत सस्तो हुने उनले दाबी गरे।

कति समयमा बन्छ?

इञ्जिनियर कोइरालाका अनुसार चार कोठाको एक तले घर बनाउन एक महिना समय लाग्छ। त्यस्तै, अलि धेरै डिजाइनको घर बनाउन भने साढे दुई महिनासम्म लाग्छ।

कस्तो, कत्रो घर बनाउने भने निधो भइसकेपछि कतिवटा प्यानल लाग्छ, हिसाब गरेर उद्योगले नै बनाएर पठाइदिन्छ। यसरी आएका प्यानलको घर पक्की जस्तै देखिने उनले बताए।

तापक्रम कसरी सन्तुलनमा आउँछ?

गर्मीमा बाहिरको भित्ता तात्यो भने पनि भित्रको भित्ता तात्दैन। किनभने त्यसको भित्री भागमा बाहिरको तापक्रम भित्र जान नदिने विशेष किसिमको फम राखिएको हुन्छ। बाहिरी दुई पाताका बीचमा खाँदेर राखिएको उक्त फमले एउटा पाताको तापक्रम अर्को पातासम्म पुग्न दिँदैन। जस्तो खालको प्यानल प्रयोग हुन्छ त्यो अनुसार भित्र राखिने वस्तु फरक पर्छ।

‘छाना र भित्ताहरू तापक्रम सन्तुलनमा राख्नेगरी बनाइएको हुन्छ,’ सापकोटाले भने, ‘यसले १० डिग्रीसम्म तापक्रम रोक्छ र सोही डिग्रीसम्मको तापक्रम कायम गर्न मद्दत गर्छ। यसकारण बढी जाडो र गर्मी क्षेत्रका लागि बनाइएका घरभित्रको वातावरण मौसमअनुसार आफैं सन्तुलनमा आउँछ।’

प्रिफ्याबको पाता धेरैजसो भारत र चीनबाट धेरै आउँछ। छाना चीन र खाडी मुलुकबाट बढी आउँछ। फलाम लगायत अरू सामान चीन, कोरिया, भारत लगायत देशबाट आउँछ। पछिल्लो समय नेपालमै प्यानलहरू बन्न थालेको पनि उनले बताए।

यस्ता घर भूकम्पप्रतिरोधी, त्यसमा प्रयोग हुने सामान नभत्किने, नढल्ने र कुनै कारणवश ढलिहालेर मान्छेलाई लाग्दा पनि गम्भीर चोटपटक नलाग्ने हुँदा सुरक्षित भएको उनको भनाइ छ। यही कारण भूकम्पपछि यस्ता घरको माग बढेको हो।

यस्ता घर हल्लिन्छन्, कमसल हुन्छ भन्ने पनि सुनिन्छ। यसबारे प्रस्ट्याउँदै इञ्जिनियर कोइरालाले भने, ‘घरको संरचनाका लागि फलाम प्रयोग हुने भएकाले हल्लाउँदा हल्लिन्छ नै। हल्लिनु भनेको सुरक्षित हुनु हो,’ उनले भने, ‘प्रिफ्याब घर भूकम्प प्रतिरोधी मात्रै होइन, हेर्दा आकर्षक हुन्छ। आगो-पानीले असर गर्दैन, आवाज पनि बाहिर जाँदैन, आउँदैन। फायर-वाटर-साउन्ड प्रुफ हुन्छ।’

प्रि-फ्याब घर समय–समयमा मर्मत गर्‍यो भने ५० वर्षसम्म पनि टिकाउ हुने पनि उनले दाबी गरे।

Related Articles

Back to top button
Close