News

अविरल वर्षाका कारण बुटवल–तानसेन सडकखण्ड भासिन थाल्यो, यात्रु मारमा

पाल्पा, १८ साउन । विगत दुई महिनादेखि पहिरोका कारण अबरुद्ध हुँदै आएको बुटवल–तानसेन सडकखण्ड केही दिनयता भासिन थालेको छ । बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा, पानीमील, चौविसमाइल, डुम्रे क्षेत्रमा सडकको बीचबीचबाट भासिन थालेको हो ।

उत्तर–दक्षिण जोड्ने एक मात्र यस सडकखण्डमा अविरल वर्षाका कारण सडक मर्मतको अभाव तथा क्षमता भन्दा बढी भारबहन गर्ने मालबाहक सवारीका साधन सञ्चालन भएका कारण सडक भासिन थालेको हो ।

सडक भासिएर जोखिम बढेपछि स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउदै समय समयमा ठूला सवारी साधन प्रवेशमा रोक लगाउन थालेको छ ।

गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को राजधानी जोड्ने मुख्यराजमार्ग अन्तर्गत यस क्षेत्रमा ठूला सवारी साधनहरु प्रवेशमा रोक लगाएसँगै ठूला सवारी चालकहरु बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।

माथिबाट पहिरो खस्ने गरेको र तलबाट सडक नै भासिन थालेपछि सवारी चलाउन जोखिम भएको चालकहरुको भनाइ रहेको छ । बुटवलदेखि पाल्पा हुदै गुल्मी, पर्वत, पोखरालगायत १२ वटा जिल्ला जोड्ने यस सडकखण्डले आर्थिक तथा पर्यटन विकासमा समेत अवरोध पु¥याउदै आएको छ ।

डिभिजन सडक कार्यालयका इन्जिनियर शिव खत्रीका अनुसार सडक भासिने समस्या पूरानै भएको र तत्कालका लागि अस्थाई रुपमा सडक सञ्चालनमा ल्याएको बताउँदै स्थायी र दिर्घकालीन समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन भएकाले यसै आर्थिक वर्षमा कामको थालनी हुने बताए ।

पछिल्लो समय सडक भासिन थालेपछि यात्रुलाई दिनरात नभनी सुरक्षित गराउन कठिन भएको दोभान प्रहरी चौकीका प्रमुख वल बहादुर पुनले बताए ।

Related Articles

Back to top button
Close