vada
News

म छोरी मान्छेले दिएको दागबत्तीले नै मलाई सँसारमै चिनाएको होः सपना मगर

काठमाडौ । ‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ । म त्याहाँ पुग्छु नै भनेर पुगेकी थिईन । म त्याहाँ पुग्नुमा सायद आजको यो सम्मान पाउनलाई हो रहेछ जस्तो लागेको छ ।’ यो भनाई हो पशुपति आर्यघाटमा बेवारिशे शव जलाएरै विश्वका प्रेरणादायी र प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरको ।

आजको दिनमा यो सम्मान पाउनकालागी आफुले बेवारिसेहरुको शव नजलाएको बताउँछिन् सपना । उनले जब त्यो अस्पतालको शव गृहमा शवको थुप्रो देखिन् त्यतिबेला कताकता उनको मनमा ‘यो कस्तो बिचित्रको संसार, जहाँ बाँचुल्जेल त सुखले बाँचेनन् मरेपछि पनि यिनीहरुको लासले सुख पाएनछन्’ भन्ने लागेछ ।

शुरुमा डराएतापनि पछिपछि भने शवहरुलाई निकै बेर घोरिएरै हेर्दै जाँदा झण्डै एकवर्षपछि भने उनलाई ती शवहरु उनलाई बीभत्स लाग्दै गएछ । सपनाले ती बेवारिसे शवहरुसंग आफ्नो केही न केही नाता हुनुपर्छ हैन भने यिनीहरुको लासलाई देखेपछि मलाई नै किन छटपटी ? भन्दै उनीहरुको अन्तिम सतिगति गर्ने निर्णय लिईन् आज उनलाई केवल नेपालले मात्र हैन पुरै विश्वले नै चिनेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस्**

१९ वर्षीया सपनाले हरेक दिन पशुपति आर्यघाटमा बेवारिस शव जलाउँछिन् । यो कामको शुरुवात उनले आजको दिनमा सम्मान पाउनकोलागी गरेकी थिईनन्। तर, यही कामले उनलाई संसारमै चिनाइदिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको विश्वका प्रेरणादायी र प्रभावशाली सय महिलाको सूचीमा सपनाको नाम जोडिएको छ । शहरमा उनको समाचार छ्याप्छ्याप्ति भईरहंदा सपना भने यतिबेला म्याग्दीस्थित आफ्नो घरमा छिन् ।

सपनाले जब आफ्नो बारेमा समाचार बनेको रहेछ त्यो पनि देशविदेशकै मिडियाहरुमा भन्ने थाहा पाईन् तब उनका आखाँबाट हर्षको आँशु निरन्तर बगिरह्यो । बोल्नकोलागी कुनै वाक्य नै फुटेन । निकै लामो समयसम्म त उनी पुर्णरुपमा निशब्द बनिरहिन् । यति ठूलो सफलता जीवनमा पाउनेछु भन्ने नसोंचेकी सपनाले आफुले गरिरहेको काम कसै न कसैले त देखिरहँदा रहेछन् भन्दै भावुक पनि भईन् ।

सपना सबैभन्दा भावुक त तब भईन् जब उनले आफ्नो फेसबुकको पेज खोलिन् तब जताततै उनैको ठूलठूला फोटो सहितको समाचार देखिन् । अहिले सपनालाई फोन तथा म्यासेजबाट बधाई तथा शुभकामना पाईरहेकी छन् । हेर्दा निकै नै साधारण देखिने तर हँसिली अनुहारकी सपनाले यो जिम्मवारी र सफलताले आफुलाई काम थप प्रेरणा मिलेको बताउँछिन् ।

उनले आफ्नो यो कर्मले उनलाई मात्र नभई सिंगो देशलाई नै चिनाएको बताउँछिन् । यो विषयमा आमाबुवा निकै नै खुशी हुँदै उहाँहरुले मलाई ‘म केवल उहाँहरुको मात्र नभई पुरै देशकै छोरी’ हुँ भनेको कुरा सुनाईन् । म्याग्दीबाट काठमाण्डौ आएकी सपनाले यो काम बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध भएर गरेकी हुन् ।

सपना एउटा परिवार र पढ्न सक्ने क्षमताकी हुन् । तर पनि उनले यति सानै उमेरमा बेवारिस मानिसको लासलाई अन्तिम दाहासंस्कार गर्ने गर्छिन् । यो काम त राज्यको हो । तर, सरकारले यो काममा ध्यान दिएको छैन । सपनाको भनाईमा मानिसको जीवन न हो कोकतिबेला कहाँ पुग्नु पर्छ कसैलाई थहा हुँदैन ।

कस्को अन्त्य कसरी हुने हो त्यो पनि कसैलाई थाहा हुँदैन । आज महलमा भएको मानिस भोलीको दिनमा कसरी सडकमा आउनु परेको हुन्छ त्यो पनि कसैलाई थाहा हुँदैन । जो जहाँ रहेको हुन्छ त्यसले सम्मान पुर्वक बाँच्न पाउनु पर्छ । त्यसैले बेवारिसे लासहरुले पनि इज्जतसाथ जल्न पनि पाउनु पर्छ । सपना भन्छिन्,‘म भोलीको आफ्नो अन्तिम समयको निम्ति यो काममा लागेकी हुँ ।’

सपना भन्छिन्,‘बेवारिसे भएर कसैलाई मर्नु नपरोस् ।’ सपनाले आज पाएको सम्मानमा आफु महिला भएको हुनाले महिलाले दिएको दागबत्तीकै कारण आफूलाई चिनाएको उनको बुझाइ छ । छोरी मान्छेले दागबत्ती दिन हुँदैन भन्ने हाम्रो समाज हो । छोरी मान्छेलाई मलामी जानबाट अझैं पनि रोकिन्छ हाम्रो समाजमा । यस्तो समाजमा कल्पनाभन्दा पनि परको काम गरेर सपनाले साँच्चै हिन्दु धर्मको परम्परालाई नै चुनौति दिएकी छन् ।

हरेक मानिसको सफलताको पछाडि कुनै एक व्यक्तिको हात रहन्छ । सपनाले आज पाएको सफलताको पछाडी पनि कसैको ठूलो हात छ । जस्लाई सपनाले आफ्नो कर्म क्षेत्रको बुवा भन्न रुचाउँछिन् । र उनी हुन् ‘विनयजंग बस्नेत’ सपनाले प्रत्येक पटकको कुराकानीमा यदि कर्मका पिता विनयजंग बस्नेतसँग भेट हुँदैनथ्यो भने आफुलाई यो काम गर्न पनि हौसला मिल्दैनथ्यो भनेर सधैं उनले विनयजंगलाई श्रेयको पात्र भनिरहेकी हुन्छिन् ।

विनयले विगत ६ वर्षदेखि बेवारिसे शव जलाउँदै आएका छन् । उनै विनयको साथमा सपनाले विगत एक वर्षदेखि यो काम गर्दै आएकी छन् । र यो एक वर्षको अवधिमा सयभन्दा बढी बेवारिसे लास जलाएकी छन् । सम्मान पाउँछु भनेर पाईने कुरा रहेनछ भन्ने कुरा सपनाको यो कामबाटै थाहा हुन्छ । साँचो सम्मान पाउनकोलागी कर्म नै गर्नु पर्ने रहेछ ।

यो कुरा म्याग्दीकी १९ वर्षीय सपना रोका मगरबाट सबैलाई सिकाएकी छन् । र कर्म गर्न सजिलो हँदैन भन्ने कुरा पनि सपनाले गरेको कामबाट थाहा पाउन सकिन्छ । भनिन्छ,‘कर्म गर तर फलको आश नगर’ सपनाले सायद त्यही गरिन् । त्यसैले उनले आज सम्हाल्ने नसक्ने फल पाएकी छिन् । बधाई छ सपना तिमीलाई पुरै महिलाहरुको शिर उच्च पारिदिएकोमा र नाम राखेकोमा ।

Related Articles

Back to top button