vada
News

टाउकोको शल्यक्रिया गर्दा बिरामीको मृत्यु, पेट चिरिएको देखेपछि चिताबाटै उठाइयो शव

बिराटनगरको नोबेल मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरेपछि मृत्यु भएका युवकको अन्तिम संस्कार गर्ने बेला पेट चिरेको देखिएपछि चिताबाटै शव उठाएर पोष्टमार्टमको लागि लगिएको छ ।

टाउकोको शल्यक्रियाका क्रममा मृत्यु भएका केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको पेटमा पाँच टाँका लगाएको भेटिएको छ ।

अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा उपचारको लागि भर्ना गरेकोमा शुक्रबार उनको टाउकोको शल्यक्रिया भएको थियो ।

अन्तिम संस्कार गर्न चितामा राखेपछि पेट चिरेको देखेपछि आफन्तले शव उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस्**

शल्यक्रियापछि शनिबार नै उनको मृत्यु भएकोमा अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिने भन्दै तीन दिनसम्म रोकेर राखेको थियो । स्थानीयले फेरि चन्दा उठाएर उपचार खर्च दिएपछि सोमबार साँझ शव लिएर आफन्त केराबारी पुगेका थिए ।

राति करिब ८ बजे चितामा राखेर आगो लगाउनुअघि कपडा खोल्दा पेटमा प्वाल देखिएको स्थानीयले बताएका छन् ।

नाइटो नजिकै पेटमा पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले शवको अन्त्येष्टि नगरी राति १२ बजे चिताबाट उठाएर पोष्टमार्टमका लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेका हुन् ।

स्थानीयले शंका गर्दै पोष्टमार्टम गर्नुपर्ने बताएपछि राति नै शव अस्पतालसम्म पुर्‍याइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । स्थानीयले घटना शंकास्पद भएकोले छानबिन हुनुपर्ने माग राखेका छन् ।

बिक्कीको टाउकोको शल्यक्रिया गर्दा १ लाख ८२ हजार २ सय रुपैयाँको बिल नोबेलले उठाएको थियो । सो रमकमध्ये ५८ हजार रुपैयाँ सरकारको विपन्न नागरिक सहायता कोषबाट र बाँकी रकम चन्दा उठाएर तिरेको स्थानीयले बताएका छन् ।

गरिब र असाहयको निःशुल्क उपचार गरिरहेको प्रचार गर्ने नोबेलले अतिविपन्न विकि ऋषिदेवको उपचार खर्चमा छुट दिन ईन्कार गर्दै शव नै बन्धक राखेको थियो ।

Related Articles

Back to top button