News

कोरोनाले बजायो खतराको घण्टी, घरदैलोसम्म आइपुग्यो !

११ साउन, वीरगञ्ज । पछिल्लो केही दिनयता वीरगञ्जमा पुनः कोरोना संक्रमण व्यापक फैलिएको संकेत देखिएको छ ।

साउनमा ज्यान गुमाएका ५ जनामध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने जिवित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ महिलासहित ५३ जनालाई कोरोना अस्पतालमा लगिएको छ । २८ जनालाई आइसोलेसनको समेत प्रबन्ध गर्न नसकिएको अवस्था छ ।

विगतमा संक्रमितहरुमा लक्षण खासै नदिए पनि अहिले भने लक्षणसमेत देखिन थालेको छ । अधिकांशमा ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्नेजस्ता लक्षणहरु देखिन थालेका छन् ।

यो पनि पढ्नुस्
वीरगञ्जमा मृ´त्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि
राजविराजमा कोरोनाको अर्काे लहरो, न्यायाधीश पनि संक्रमित
थप १३० जनामा कोरोना संक्रमण
समुदाय स्तरमा कोरोना फैलिएको ठहर गर्दै पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो यहाँका चिकित्सकहरुको छ ।

नारायणी अस्पतालका जनरल फिजिसियन डा. उदयनारायण सिंह कोरोना महामारीमा निरन्तर खटिएका चिकित्सक हुन् । नारायणी अन्तर्गत गण्डक कोरोना विशेष अस्थायी अस्पताल स्थापनापछि उनलाई नै संयोजक बनाइएको छ ।

वीरगञ्जमा कोरोनाको जोखिम बढ्दै गएको सन्दर्भमा अनलाइनखबरकर्मी सुरेश बिडारीले डा. सिंहसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

०७६ चैत २९ गते तीनजना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भयो । पहिलो वेभको शुरुवाती बिन्दु त्यही थियो । छिमेकी मुलुक चीनमा ०१९ को डिसेम्बरमै कोरोना भाइरसले महामारीको रुप लिइसकेको थियो । त्यसअनुसार हामीकहाँ तयारी हुन सकिरहेको थिएन ।

हवाई यात्रा र स्थल मार्गबाट आउनेहरुको उचित व्यवस्थापन हुन सकेन । वीरगञ्ज मुलुककै प्रवेशद्वार यो पहिलेदेखि नै उच्च जोखिम भएको ठाउँ हो । यसबारे तीन तहका सरकार बेखबर थिएनन् । पहिलो वेभ आउँदा वीरगञ्ज हट स्पट बन्यो, ठोस प्लानिङ हुन सकेन ।

नारायणीलाई लेभल २ कोरोना अस्पताल घोषणा गरियो । लक्षण नदेखिएका संक्रमित थिए । हामीले जसोतसो उनीहरुको व्यवस्थापन गर्‍यौं । त्यति नै खेर विज्ञहरुको परामर्शमा ठूलो कोरोना विशेष अस्थायी अस्पताल बनाउँ भनेर सिफारिस गरिएको हो । गण्डक अस्पताललाई कोरोना विशेष अस्थायी अस्पताल बनाइयो । राजनीतिक र व्यक्तिगत स्वार्थ पूर्तिका लागि कतिपयबाट रोटी सेक्ने काम भयो ।

खिचातानीले हद पार गरिरहेको थियो । तैपनि त्यतिखेर स्थिति साम्य भयो । एक चरणको तीतो अनुभव लिएर कोरोना माहामारीलाई सन्तुलित पारेको न्यानो अनुभूति गरेका थियौं । तैपनि हामीले अहिले चुप लागेर बस्ने अवस्था छैन भनेर सरोकारवालाको ध्यानाकर्षण गराएका हौं । तयारी अवस्थामा बसौं भन्यौं ।

लकडाउन खुकुलो गरियो । लकडाउन मात्रै खुकुलो गरिएको भए पनि स्थिति यति साह्रो बिग्रने थिएन । छिमेकी मुलुक भारतबाट समेत मानिसहरु लुकीछिपी आएर समुदायमा पसे । उद्योग धन्दामा काम गर्ने मजदुर खटिए ।

अहिले भारतमा पनि लकडाउन खुकुलो गरिएपछि संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । अन्य देशको अनुभवले पनि त्यस्तै देखाइरहेको छ । बजारमा माक्स लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षा सतर्कतासमेत देखिएको छैन । लागिरहेको छ कि कोरोना महामारी खत्तम भइसकेको छ ।

आइसोलेसन खाली हुने तरखरमा थियो, अचानक वीरगञ्जको परिदृश्य फेरियो । ०७७ असार ३१ गते रौतहटबाट रिफर भई आएका ३६ बर्षीय युवकको मृत्यु भयो । लगतै हामीले खतराको संकेत गर्‍यौं । शून्यमा पुग्नै लागेको अवस्थाबाट ८ दिनमा ८४ जनामा संक्रमण देखियो ।

संक्रमितमध्ये ४ जनाको मृ´त्युु भइसकेको छ । एकजना शंकास्पद ंसंक्रमितको आईतबार निधन भयो । संक्रमितमध्ये अधिकांशमा लक्षण छ । भाइरल स्ट्रेन्थ परिवर्तन भएको छ । यसलाई सामान्यरुपमा लिनु हुँदैन भनेर विभिन्न माध्यमबाट सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छौं ।

दुर्भाग्य नै मान्नुपर्छ, साउन १ गतेपछि मात्रै पनि जुन तयारी हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । न केन्द्र सरकार, न प्रदेश, न स्थानीय सरकार वा स्थानीय प्रशासन जिम्मेवार भएर प्रस्तुत भइरहेको छ । संक्रमण पुष्टि भइसकेका २८ जनालाई आइसोलेसन गर्न सकिएको छैन । २८ जना बाहिर हुँदा पनि उनीहरुलाई आइसोलेसनमा राख्न आवश्यक तयारी छैन । संक्रमित घर टोलमा डुलिरहेका छन् । नगर प्रमुख र स्थानीय प्रशासन आ–आफ्नै तालमा हिँड्न खोजिरहेका छन् । आपसमा समन्वयको अभाव छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग हुन सकिरहेको छैन । जनशक्तिको अभावमा विगतमा पनि यसमा कमजोरी भएकै हो ।

गण्डक अस्थायी कोरोना अस्पतालमा जम्मा दुईवटा भेन्टिलेटर छ । बिरामी सिकिस्त हुँदा कहाँ राख्ने ? आइतबारदेखि मास टेस्टिङ गर्ने भनिएको छ । अहिलेको स्थितिलाई हेर्दा मास टेस्टिङ गर्दा तीन सय जनामा मात्रै संक्रमण देखियो भने ६० प्रतिशतमा लक्षण देखिने हुन सक्छ । तीन सयको हाराहारीमा संक्रमितलाई अक्सिजन सहितको बेड आवश्यक पर्छ ।

सिद्धार्थ माविमा आइसोलेटेड गर्न भनिएको छ । त्यहाँ न अक्सिजन छ, न अस्पतालको जस्तो सेटअप । लक्षण नदेखिएका संक्रमितलाई मात्रै राख्न सक्ने अवस्था छ । नेशनल मेडिकल कलेजजस्तो ठूलो २/३ सय बेड भएको अस्पताल र थप जनशक्ति आवश्यक छ । अनि बल्ल पार लगाउन सकिन्छ । नत्र स्पेन र इटालीको जस्तो अवस्था नबन्ला भन्न सकिन्न ।

वीरगञ्जमा देखिएका केही समस्या र समाधानका उपायहरु बुँदागतरुपमा प्रस्तुत गरेको छु ।

१. पचास शय्याको कोभिड विशेष अस्पताल भरिने संकेत देख्दा पनि त्यसका लागि आवश्यक पहल नहुनु, २८ जना संक्रमित आइसोलेसनमा नपुग्नु । उनीहरुका लागि ठोस व्यवस्था नहुनुले कोभिड महामारीमा भएको पूर्वतयारीलाई गिज्याइरहेको छ ।

२. तीन तहका सरोकारवालाहरु बीच आपसी समन्वयको अभाव छ । राजनीतिक, व्यक्तिगत तथा पदीय स्वार्थसहितका विविध बहानामा निश्चित दुरी छ ।

३.केन्द्रीय सरकारले स्थितिको गम्भीरतालाई बुझ्न सकेको छैन ।

४. असमान्य परिस्थितिमा आवश्यक जनशक्ति र उपकरणको अभाव छ ।

५.स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्ने कदम चाल्न नसकेको अवस्था छ ।

समाधानहरु

१. छिटोभन्दा छिटो बैकल्पिक कोरोना विशेष अस्पतालको व्यवस्था हुनुपर्छ । अनुमानित ३०० शैया बराबरको आइसोलेसन र ३० शैया आईसीयु र कम्तिमा १० वटा भेटिन्टलेटरसहितको हुनुपर्छ ।

२. राजनीतिक तिक्ततालाई थाती राखेर मानवताका लागि तीनै तहका सरकारबीच आपसी सहकार्य हुनुपर्छ ।

३.केन्द्र सरकारद्वारा स्थितिको गम्भीरतालाई मनन गरी तत्काल आवश्यक कदम चाल्नुपर्छ ।

४.सरकारी तथा निजी अस्पतालका दक्ष जनशक्ति पहिचान गरी कोभिड संक्रमितको उपचारमा परिचालन गरिनुपर्ने ।

५.स्वास्थ्यकर्मी तथा सुरक्षकर्मीको मनोबल उच्च राख्न बीमा, भत्ता तथा अन्य सेवाको व्यवस्था तत्काल गरिनुपर्छ ।

६. तिव्रताका साथ टेस्टिङ एवं ट्रयाकिङ मार्फत संक्रमित पहिचान गरि वैज्ञानिकरुपले क्वारेन्टिन तथा आइसोलेसनमा राख्न र संक्रमणको चेन ब्रेक गर्न जरुरी छ ।

७. नागरिकले पनि सामाजिक दायित्व निर्वाह गर्दै निषेधाज्ञाको पूर्ण पालना गरेर कोभिड संक्रमणको घेरा तोड्न सघाउनुपर्छ ।

अन्त्यमा,

वीरगञ्जको अवस्था निकै नै चुनौतीपूर्ण र असमान्य छ । नागरिक समाजको काँधमा जिम्मेवारी थपिएको छ । सरोकारवाला सबै निकायबीच आपसी सहकार्य गर्नुको विकल्प छैन ।

एकजुट भएर मात्रै हामीले कोरोनालाई परास्त गर्न सक्छौं । कोरोना तपाईं हाम्रो घर दैलोसम्म आइपुगेको छ । लापरवाही गर्दा कोरोनालाई फैलन मद्दत पुग्छ । तसर्थ आफू सचेत बनौं, स्वास्थ्य सुरक्षाका उपायहरुको अवलम्वन गरौं । परिवारलाई सुरक्षित राखौं, अनि समाजलाई सुरक्षित राख्न सकेको सहयोग गरौं ।

Related Articles

Back to top button
Close