News

‘इनफ इज इनफ’का अभियन्ताले दिए अर्थमन्त्री र सचिवविरुद्ध अख्तियारमा उजुरी

इनफ इज इनफ’ का अभियन्ताले अर्थमन्त्री युवराज खतिवडा र सचिवहरु शिशिर कुमार ढुङ्गाना र रामशरण पुडासैनीविरुद्ध अख्तियारमा उजुरी दिएका छन्।

आइतबार ५० जना अभियन्ताले मन्त्री खतिवडा र सचिव द्वयविरूद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन्।

अभियन्ताहरूले कोरोनाभाइरसको महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गर्दा अनुगमन नगरेको भन्दै उजुरी दिएका हुन्।

अनुगमन नगर्दा भ्रष्टाचारलाई प्रोत्साहन दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम कारबाही गर्न अभियन्ताहरूले आग्रह गरेका छन्।

‘यसअघि हामीले पहिलो चरणमा स्वास्थ्यमन्त्री विरूद्ध उजुरी हालेका थियौं, अहिले दोस्रो चरणमा हामीले अर्थमन्त्री र सचिव विरूद्ध उजुरी हाल्यौं,’ अभियान्ता पुकार बमले सेतोपाटीसँग भने, ‘अझै पनि सरकारले बेवास्ता गर्छ भने हामी अर्को चरणमा पुग्छौँ र गृहमन्त्री, गृहसचिव लगायत विरूद्ध चरणबद्ध रूपमा उजुरी दिन्छौं।’

साथै कोरोनाभाइरस महामारीको व्यवस्थापन, नियन्त्रण, न्युनीकरण तथा रोकथामको लागि खर्च भएका वास्तविक विवरण समेत माग गरेका छन्। सूचना सम्बन्धी हकको निवेदन दर्ता गर्दै उनीहरुले केन्द्र, प्रदेश तथा स्थानीय तहबाट भएका खर्चहरूको विवरण माग गरेका हुन्।

यसअघि सरकारले गरेको कामप्रति असन्तुष्टि जनाउँदै अभियन्ता ‘ई’ लगायत अनशनमा बसेका थिए। सरकार र अभियन्ताहरूबीच १२ बुँदे सम्झौता भएपछि ई र पुकार बमले अनशन तोडेका थिए।

त्यही सम्झौता पुरा नगरेको भन्दै ई, समाइरा श्रेष्ठ र करण गुरूङ नौं दिन देखि अनशनमा छन्। उनीहरू बसन्तपुर दरबार स्क्वायरमा अनशनरत छन्। आफ्नो सम्झौताको पालना गर्न र अनशनरत अभियन्ताहरूको जीवन रक्षा गर्न उनीहरुले आग्रह गरेका छन्।

Related Articles

Back to top button
Close