vada
News

कुलमानको ठाउँ लिन विद्युतमा आए हितेन्द्रदेव शाक्य, को हुन् उनी ?

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणकै इन्जिनियरिङ कम्पनीमा कार्यरत शाक्यलाई प्राधिकरणमा काज फिर्ता बोलाएर निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

यसअघि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई मन्त्रालयले नियुक्त गरेको थियो । अब हितेन्द्रदेव शाक्यलाई नै प्राधिकरणको कार्यकारी निर्देशक बनाउने योजनाअनुसार निमित्तको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ । शाक्य ऊर्जामन्त्री पुन निकट मानिनुहुन्छ ।

यसअघि मन्त्री पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट कोइरालालाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।

तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्ट भएको स्रोतको दाबी छ ।

अब शाक्य प्राधिकरणमा फर्किएपछि उनले नै कार्यकारी प्रमुखको जिम्मेवारी पाउने निश्चितजस्तै भएको ती बोर्ड सदस्यले बताए ।

शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको भगिनी कम्पनी हो । परामर्श एवम् इञ्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए ।

शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए । त्यसैले प्रधानमन्त्री ओलीले शाक्यलाई रुचाएको प्राधिकरण स्रोत बताउँछ ।

Related Articles

Back to top button