News

वाग्मतीमा सबै सवारीको इम्बोस्ड नम्बरप्लेट वितरण सुरू, यस्तो छ प्रक्रिया

सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण सुरू गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा आज टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण सुरू गरेका हुन्।

मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेट रुपका रुपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारी साधनमा राख्ने योजनानुसार सरकारको तर्फबाट यो प्रक्रिया अघि बढेको बताए।

सुरूआतमा कानूनी कारण समस्या रहेपनि अहिले यो कार्यान्वयन हुन गइरहेको उनको भनाइ छ।

केही वर्षभित्रै सातै प्रदेशमा दर्ता भएको सबै किसिमका सवारी साधनमा इम्बोस्ड प्लेट राखेर व्यवस्थित गर्ने कार्य सुरू भएको छ।

उनले भने, ‘यो काम तीव्रता दिन सबैलाई अनुरोध गर्दछु।’

मन्त्री नेम्वाङले सङ्घीयतामा गएपछि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनै तहलाई यातायातलाई व्यवस्थापनको जिम्मेवार दिएको बताए।

यातायातलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न तीनै तह तदारुकताको साथ कार्यान्वयन गर्दै अगाडि बढेको उनको भनाइ छ।

सबै सवारी साधनलाई चुस्तदुरुस्त राख्नका निम्ति त्यसको परीक्षण गर्ने कार्यालय स्थापना भइरहेको उनले जानकारी दिए।

उनले भने, ‘सातै प्रदेशमा भेहिकल फिटनेस टेस्ट सेन्टर स्थापना गर्ने सरकारको योजना बमोजिम बुटवल र हेटौँडामा स्थापना भइसकेको छ।’

मन्त्री फुयाँलले यो नम्बर प्लेटका कारण सामाजिक अपराध कम हुने विश्वास गरे।

सो नम्बर प्लेट लिनका लागि पहिले सवारी धनीले हालसम्मको राजश्व चुक्ता गर्नुपर्छ।

विभागको वेवसाइटमा रहेको फाराम भरेर प्रिन्ट गर्न सकिनेछ। सो प्लेटका लागि फरक प्रकृतिका सवारी साधनका लागि फरक कार्यालयमा जाने व्यवस्था मिलाएको छ।

दुईपाङ्ग्रे सवारी साधनका लागि गुर्जुधारास्थित कार्यालय, तीन पाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ।

त्यस्तै, ठूला सवारी साधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकार नम्बरप्लेटका लागि विभागमा जानुपर्ने बताएको छ।

सवारी धनीले सो नम्बरप्लेटका लागि तोकिएको बैङ्कमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ।

दुईपाङ्ग्रे सवारी साधनका लागि दुई हजार ५०० रूपैयाँ, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि तीन हजार २०० रूपैयाँ र ठूला सवारीका लागि तीन हजार ६०० रूपैयाँ राजश्व जम्मा गर्नुपर्नेछ।

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बरप्लेटवापतको रकम जम्मा गरेको बैङ्क भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताएको छ।

Related Articles

Back to top button
Close