vada
News

भिटेनका फ्यानहरुकोलागी खुशीको खबरः भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौ । पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको हो ।

अदालतका उप–रजिस्टार शम्भु रेग्मीले भिटेनलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरिएको बताए । भिटेनले एक साताअघि सार्वजनिक गरेको पारा नामक गीतमा अश्लील शब्द र गालीगलौज गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।

यो विषय सार्वजनिक भएलगत्तै उनले युट्युबको ट्रेडिङ नं. १ मा रहेको आफ्नो गीत हटाएका थिए । साथै, प्रेस विज्ञप्ति समेत जारी गरेर गीतलाई संशोधनपछि पुनः राखिने पनि जनाएका थिए । त्यहीबीच उनले अदालतमा प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिए ।

अदालतमा निवेदन परेपछि प्रहरीको महानगरीय अपराध महाशाखालाई अनुसन्धानको जिम्मेवारी प्रहरी प्रधान कार्यालयले दिएको थियो । यसअघि महाशाखाले नै उनलाई पक्राउ गरेकाले अनुसन्धानको जिम्मेवारी फेरबदल गरिएको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताए ।

Related Articles

Back to top button