News

एसिड आक्रमणको झण्डै एक वर्ष, मुस्कान भन्छिन्- अपराधीको जित नहोस् भनेर कहिल्यै आँसु झारिनँ (भिडिओ)

वीरगञ्जकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको झन्डै एक वर्ष भएको छ। गत भदौ २० गते स्कुल जाने क्रममा उनीमाथि एसिड प्रहार भएको थियो।

त्यसयता मुस्कान आफ्नो परिवारसहित काठमाडौं नै बसेर उपचार गराइरहेकी छिन्।

अहिले भने मुस्कानले आफ्नो घाउलाई बिर्सिंदै पुरानै खुसीमा फर्किएकी छन्। यसका लागि उनले आफ्नो परिवार र शुभचिन्तकहरूलाई धन्यवाद दिएकी छिन्।

तर पटक-पटक एसिड प्रहारको घटना दोहोरिँदा मुस्कानको फर्किंदै गरेको मुस्कान फेरि धमिलो हुन्छ। शुक्रबार उनी बस्ने कोठा पुग्दा मुस्कानले भनिन्,’जब यस्तो घटना घट्छ म आफ्नै घटनालाई सम्झिन्छु। फेरि त्यहीँ पीडा मनमा आउँछ।’बिहीबार बेलुका काठमाडौंस्थित सितापाइलामा यस्तै घटना भयो। ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि दुई जना समूहले एसिड प्रहार गर्‍यो। यो खबर मुस्कानले लगत्तै आफ्नो फेसबुकमा देखिन्।

‘मैले हिजो राति नै यो घटनाबारे सुनें। मलाई छटपटी भएर निदाउन सकिनँ,’ उनले भनिन्,’मलाई त भोलि कतिबेला भेट्न जाऊँजस्तो भएको थियो। किनकी यस्तो बेला कस्तो पीडा हुन्छ भन्ने मलाई थाहा छ।’

नभन्दै मुस्कान शुक्रबार बिहानै पीडित युवतीलाई भेट्न कीर्तिपुर अस्पताल पुगिन्।

युवती बेडमा छट्पटाइरहेकी थिइन्। त्यो देखेर मुस्कानलाई एक वर्षअघि आफू पनि त्यसरी नै छट्पटाएको दृश्य झलझली आँखामा आयो।

‘मैले उहाँलाई नआत्तिन भनेर सम्झाएँ। एउटा दागले तपाईंलाई केही पनि हुँदैन र मन बलियो बनाएर बस्नू भनेर सम्झाएँ,’ मुस्कानले सुनाइन्।

उनले आफू कमजोर भए अपराधीहरूको झन् मनोबल बढ्ने भन्दै यस्तो बेला झन् मन बलियो बनाउनुपर्ने बताइन्।

उनले आफ्नो प्रंसग सुनाउँदै भनिन्, ‘मलाई बुवाआमाले धेरै सम्झाउनु भयो। त्यसैले मैले पनि अपराधीको जित नहोस् भनेर कहिल्यै आँसु झारिनँ।’

एसिड प्रहारको घटना पटक-पटक घटिरहेको भन्दै उनले त्यस्ता अपराधीलाई कडा कारबाही हुनुपर्ने माग गरिन्।

यसरी एसिड आक्रमणमा पर्दा एउटा महिलालाई आफ्नो जीवनमा कस्तो पीडा झेल्नुपर्छ र उनीहरूलाई पुरानै अवस्थामा फर्किन कति सजिलो हुन्छ? हेर्नुस् एक वर्षअघि एसिड आक्रमणमा परेकी मुस्कान खातुनसँग सेतोपाटीका लागि विवेक राई र रविन न्यौपानेले तयार पारेको यो भिडिओः

Related Articles

Back to top button
Close