vada
News

सप्तकोसीमा पानीको बहाव बढेपछि १४ ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम सुरु भएको छ । सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मानिन्छ । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा बर्सेनि त्रासमा बस्नु पर्ने बाध्यता छ ।

कोसी गाउँपालिका–८ स्थित सुनसरी र सप्तरी सीमामा अवस्थित कोशी ब्यारेजमा पानीमा मापन गरिन्छ । बिहीबार पानीको बहाव बढेर २१ वटा ढोका खोलिएको भएपनि हाल घटाएर १४ मा झारिएको छ । अर्थात्, शुक्रबार बिहान पानीको बहाव घटेसँगै १४ वटा ढोका खोलिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा बिहीबार बिहान पानीको बहाव एक लाख १९ हजार क्यूसेक मापन गरिएको थियो । त्यतिबेला कोसी ब्यारेजका २१ वटा ढोका खुला गरियो । तर आज बिहानसम्म आइपुग्दा पानीको बहाव एक लाख १४ हजार क्यूसेकमा झरेको छ । यसकारण कोसी ब्यारेजका १४ वटा मात्रै ढोका खुला गरिएको विपद् फोकल पर्सन सुधीर साफीले जानकारी दिए ।

सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हुँदा समेत भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोल्ने गरेका कारण सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलङ्का टापुका बासिन्दा त्रसित हुने गरेका छन् ।

उच्च हिमाली र पहाडी क्षेत्रमा ठूलो वर्षा भएर सहायक नदीमा समेत बाढी आउँदा सप्तकोसीमा बहाव बढ्ने गरेको छ । पहाडमा वर्षा रोकिँदा नदीको बहाव पनि घट्ने गरेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । तराईमा हुने वर्षाले भने सप्तकोसीको पानीको सतहमा खासै असर नगर्ने बताइएको छ

Related Articles

Back to top button