यस्तो छ भोलि दशैँ टिकाको शुभ साइत !
काठमाडौँ । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ।यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०:११ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिए।
विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०:१९ बजेको साइत उत्तम छ।दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्। कात्तिक १ गते शनिबार घटस्थापनाका दिन जमरा राखिएको थियो ।
खुलेन तलेजुः जीवितदेवी कुमारीघरमै
हरेक वर्ष महानवमीमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा आज सर्वसाधारणले पूजा एवं दर्शन गर्न पाएनन्।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
आजको दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको प्रभावका कारण औपचारिक पूजामा सीमित गरिएकाले सर्वसाधारणको आगमन भएन।
तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिइँदै आएकामा पहिलो पटक यस वर्ष बलिरहित पूजा गरिएको बताए ।
किंवदन्तीअनुसार सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसंँग त्रिपासा खेल्ने गरेका थिए । राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन्।
राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसको घुइँचो लाग्छ।
उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रुपमा प्रवेश गरेको जनविश्वास छ । त्यसै बेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीका रुपमा पुजिन थालेको हो।
कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट शुरु भई पछि काठमाडौँ र ललितपुरमा विस्तार भएको भक्तपुरका तलेजुका मूल नाइके जोशीले बताए।