vada
News

आज ४ हजार २२ जना कोरोनालाई जितेर डिस्चार्ज भै घर फर्किए

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार २२ जना कोरोनालाई जितेर डिस्चार्ज भै घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १९८ जना संक्रमित थपिएका छन्। काठमाडौँमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ ।

अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ । मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ । सरकारले सङ्क्रमणको साङ्लो तोड्ने प्रयास जारी राखेको भए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै सर्वसाधारणको हेल्चेक्र्याइँसमेत देखिएको जनस्वास्थ्यविद् औँल्याउँछन् ।

आजका मितिसम्म १० जिल्लाले मात्रै निषेधाज्ञा जारी गर्न बाँकी छ । झण्डै २० दिनको अवधिमा मुलुकका ६७ जिल्लामा निषेधाज्ञा जारी गरी सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ । त्यस्ता जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ । त्यसमध्ये नौ जिल्लामा आंशिक निषेधाज्ञा छ । खुला रहेकामध्ये अधिकांश हिमाली जिल्ला छन् ।

देशका अधिकांश भाग ठप्प हुँदा आदेश जारी गर्न बाँकी रहेका ती जिल्लाका गतिविधिसमेत चलायमान हुन सकेको छैन । खुला रहेका १० जिल्लाले आदेश जारी गर्न बाँकी भए पनि मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको निर्णयलाई आधार मानेर उच्च सावधानी अपनाउने तथा स्वास्थ्यका मापदण्ड पूर्ण कार्यान्वयनका लागि विभिन्न निर्णय गर्दै कोरोना फैलिन नदिन उच्च सावधानी अपनाउँदै आएको छ । केही जिल्ला भने निषेधाज्ञा जारी गर्ने तयारीमा पुगेका जनाइएको छ ।

Related Articles

Back to top button