vada
News

काठमाडौं उपत्यकामा अझै दुई साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौंमा वैशाख २९ गतेसम्म जारी निषेधाज्ञा थप दुई साता लम्बिन सक्ने सम्भावना बढेर गएको छ । कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आइ नसकेकाले निषेधाज्ञा लम्बिन सक्ने सम्भावना बढेको हो । यसका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिने जनाइएको छ ।

काठमाडौं उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले भने, “अहिले सबै कुरा नियन्त्रणमा आइसकेको छैन । थप डेढ÷दुई साता निषेधाज्ञालाई अझ व्यवस्थित बनाउनुपर्ने देखिन्छ । त्यसैले २९ गते नै निषेधाज्ञा हट्ने सम्भावना कम छ । अझै तीन दिन संक्रमणको दर हेरौँ ।”

संक्रमण र मृत्युको दर बढ्दै गएकाले अस्पतालले थेग्न सक्दैन कि भन्ने चिन्ता समेत बढेर गएको ती अधिकारीको भनाइ छ । शनिबार (हिजो) भने पछिल्ला दुई दिनयताको भन्दा संक्रमितको संख्या कम आएको थियो । तर, एकैदिनको दरले सबै कुरा निर्धारण गर्न नसकिने विज्ञहरुले बताउँदै आएका छन् ।

पहिलो चरणको निषेधाज्ञा २२ गते राति १२ बजे सकिएको थियो भने दोस्रो चरणको निषेधाज्ञा २९ गते राति सकिँदै छ । यस्तोमा सुरुमा १४ दिन नथपेर सात दिन थप्ने सम्भावना बढी छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली निषेधाज्ञा गरेकै कारण भयावह अवस्था नआएको बताउँछन् ।

उनले भने, “निषेधाज्ञा नगरेको भए भयावह अवस्था आउँथ्यो । अहिले पनि अवस्था राम्रो छैन । तर, केही हदसम्म नियन्त्रणमा छ । ‘चेन ब्रेक’ भए÷नभएको हेर्न अझै केही समय लाग्छ ।”पराजुलीले काठमाडौंमा निषेधाज्ञाको पालना नगर्नेहरुमाथि आर्थिक जरिवाना सुरु गरिएको बताए ।

यता, सुरक्षा निकायले समेत उपत्यकामा अझै दुई साता निषेधाज्ञा जारी राख्नुपर्ने बताउँदै आएका छन् । निषेधाज्ञाका कारण मानिसको गतिविधि घटेकाले अझै दुई साता निषेधाज्ञा लम्ब्याए अवस्था केही सहज हुने उनीहरुको बुझाइ छ ।अहिले पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइएको छ । बेलुका पूर्ण रुपमा बन्द छन् । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाइ गरिएको छ ।बाह्रखरी

Related Articles

Back to top button