vada
News

उपचार गर्न म्याग्दीबाट पोखरा जाँदै गरेको जिप दुर्घटना, बिरामीको मृत्यु अन्य चार घाइते

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर पोखरा जाँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप गएराति सडकबाट म्याग्दी नदीमा खसेको थियो ।

दुर्घटनामा मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

बेनी-दरबाङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका–४, तातोपानीको फाँपरखेत पहिरो नजिकैे बिहिबार राती ग १ ज ६७८८ नंम्बरको बोलेरो जीप दुर्घटना भएको हो। जिप सडकबाट करिब ५० मिटर तल खसेको छ ।

रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोका, मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोका घाइते भएका छन् ।

घाइतेहरुमध्ये जिप चालक नरबहादुरलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । अन्य घाइतेहरुको म्यादी सदरमुकाम बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।

तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

Related Articles

Back to top button