vada
News

किरण केसी भन्छन्– गहना र आइफोन नकिन्‍नुस, पैसा जोगाएर माटोमा लगानी गर्नुस्

किरण केसी, हाँस्यकलाकार

म ललितपुर, इमाडोलको रैथाने हुँ । मेरो बुवाको यहाँ सय रोपनी जग्गा-जमिन थियो । अहिले मैले घर भएको ठाउँलाई त्यो बेला ‘इनारको गरो’ भनिदो रहेछ। दुई रोपनी इनारको गरो बुबाले त्यो बेला तीन सय रुपैयाँमा किन्‍नुभएको रहेछ । एकपटक उहाँको डायरी पल्टाउँदा यो कुरा थाहा पाएको थिएँ । पछि उहाँले सबै जग्गा हामीहरूलाई बाँडफाँड गरिदिनुभयो ।

इमाडोल वरपर जताततै मेरा आफन्तै आफन्त छन् । म ३५ वर्ष हुँदासम्म हाम्रो पुरानो घर थियो,त्यही बसियो । त्यो घर अहिले पनि छ । त्यसलाई मैले रेस्टुरेन्ट बनाएको छु । पुरानो घर साँघुरो हुन थाल्यो । विस्तारै सुविधा सम्पन्‍न घरको आवश्यकता महुसस हुन थाल्यो । पुरानो घरमा ट्वाइलेट जान बाहिर निस्केर एक फन्को करेसो घुम्‍नुपर्थ्यो। समयले कोल्टे फेर्यो । अट्याच्ड बाथरुमको चलन आउनथाल्यो ।

मलाई पनि अट्याच्ड बाथरुमसहितको घर बनाउने रहर जाग्यो । त्यो बेला जग्गा प्रशस्तै थियो तर, पैसा थिएन । तैपनि, २०५० सालमा पक्की घर बनाउन तम्सिएँ । त्यसताका पिलर सिस्टम सुरु भएको थिएन । सिमेन्ट किन्‍न अहिले जस्तो सजिलो थिएन, सोर्सफोर्स लगाउनुपर्थ्यो ।आफ्नै इँटाभट्टा भएकाले इँटाको भने दुःख भएन। एक बोरा सिमेन्टको ३३ रुपैयाँ पर्थ्यो । एक टिप बालुवाको २ सय र एक हजार इटाँको ३ सय ७५ रुपैयाँ पर्थ्यो । अहिले त्यही इँटा १७ हजार पर्छ ।

एक तला घर बन्यो । एक तला बनेपछि फेरि दोस्रो तला थप्‍न मन लाग्यो । लाउन खानमा सोखिन भएकाले पैसा हुनेबित्तिकै खर्च गरिहाल्थेँ । त्यतिबेला म हङकङबाट ल्याएको १० हजार रुपैयाँको डिङ्गो बुट लगाउँथेँ । एकदिन ढलानमा त्यही डिङ्गो बुट लगाएर पानी हाल्दै थिएँ ।‘अब पैसा यस्तो डिङ्गो बुटमा भन्दा आफू बस्‍ने घरमा हाल्छु’ भन्‍ने सोचेँ । यता उतीबाट पैसा जुटाएर साढे दुईतले घर बनाएँ । तर, फिनिसिङ गर्न हतार गरिनँ । घर बनाएको दुई बर्षपछि प्लास्टर गरेँ । त्यसको एक बर्षपछि कलर अनि बिस्तारै झ्याल ढोका राख्दै गएँ। पाँच वर्ष लगाएर घर तयार गरेँ ।

मेरो घरमा ११ ओटा कोठा छन् । भुइँतलामा बैठक, दुइटा किचन र एउटा रुम छ । पहिलो तलामा मेरो बेडरुम, लुगाफाटा राख्‍ने कोठा, नातिनीका कोठा र पाहुनापाछा आउँदा बस्‍ने कोठा छ । दोस्रोमा कान्छो छोराको बेडरुम, स्टोर र पुजा कोठा छन् । सम्मानपत्र र पुस्कारलाई भुइँतलाको बैठकमा सजाएर राखेको छु । मलाई घरको रङ बेलाबेला फेरिरहन मन लाग्छ । सुरुमा क्रिम कलर लगाएको थिएँ । अहिले आफ्नै राशीको हरियो र निलो रङ बढी प्रयोग गरेको छु । त्यसबाहेक सुन्तला र सुगा रङ पनि लगाएको छु ।चम्किला रङले घर उज्यालो बनाउँछ भन्‍ने लाग्छ मलाई। धेरेजसो कोठा वालपेपरले सजाएको छु । विदेश घुम्दा जसको घरमा पनि वालपेपर लगाएको देख्थेँ । अनि मलाई पनि रहर लागेर वालपेपरले घर सजाएँ । मेरी श्रीमतीलाई बगैँचाको एकदमै सोख छ । बगैँचाको लागिमात्रै हामीले डेढ रोपनीजग्गा छुट्याएका छौँ । त्यो बगैँचामा बस्दा दुनियाँभरको दुख बिर्सिन्छौ हामी ।

मैले आफैले चितवनमा सात रोपनी जग्गा जोडेको छु । इमाडोलमा १८ रोपनी पैतृक सम्पत्ति छ । २०५८ सालमा यहाँ १८ आना जग्गा १२ लाखमा पाइन्थ्यो । अहिले सेन्टरमा एक आना जग्गाको मुल्य १ करोड सम्म पुगेको छ । तैपनि, किन्‍न खोज्दा जग्गा भेटिदैन ।अहिले एउटा सटरको भाडा नै ४० हजार पर्न थालेको छ । तर, यहाँ पानीको एकदमै समस्या छ । सरकारी धाराको पानी आउँदैन । जारको पानी किनेर खानुपर्छ । मेरो घरबाट सिंहदरबार पुग्‍न जम्मा १० मिनेट लाग्छ । तर, खानेपानीको हकमा इमाडोल कुनै दुर्गम क्षेत्रभन्दा कम छैन । NepalHomes.com

Related Articles

Back to top button