News

काठमाडौं उपत्यकाका अस्पतालहरूमा संक्रमित अटाउनै मुस्किल

काठमाडौँ, ३ भदाै । लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूलाई चाप थेग्न मुस्किल परेको छ । उपत्यकाका अस्पतालका व्यवस्थापक तथा चिकित्सकहरूका अनुसार हाल उपलब्ध सबै आइसोलेसन शय्या तथा केही हदसम्म आईसीयू पनि संक्रमितहरूले भरिएका छन् ।

नयाँ थपिने संक्रमितहरूमा कुनै जटिल समस्या देखिए व्यवस्थापन गर्न असम्भव बन्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) स्रोतका अनुसार उपत्यकामा गत साता लक्षणसहितका संक्रमितहरूको संख्या करिब ३० प्रतिशत हाराहारी थियो भने यो साता ४० प्रतिशत हाराहारी पुगेको छ ।

मुलुकभरमा मंगलबार मात्रै १ हजार १६ जना संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा २ सय ५ जना नयाँ संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकामा संक्रमित राख्न करिब ६ सय आइसोलेसन शय्या मात्रै उपलब्ध छ । कोभिड–१९ का बिरामीहरूको उपचारका लागि भेन्टिलेटरको सुविधासहितका शय्याको संख्या करिब सय हाराहारी छ ।

सरकारले देशभरमा उपलब्ध कुल आईसीयू शय्याको संख्या ९ सय ४६ र भेन्टिलेटरको संख्या ४ सय ९६ उल्लेख गरे पनि ती सबै कोभिड–१९ का बिरामीका लागि उपलब्ध हुन सक्दैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Related Articles

Back to top button
Close